Logo

कर्मचारी र शिक्षकको तलब बढाउनुपर्थ्यो : एमाले सचेतक



काठमाडौं, २८ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले नयाँ आर्थिक वर्षको बजेटमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताएका छन् ।
‘अहिलेको बजेटमा प्रधानमन्त्री, अर्थमन्त्री र सत्तासीन नेताको अनुहार मात्र देखिएको छ । सत्ताको निरन्तरता र बचाउभन्दा यसको अन्यत्र ध्यान छैन । बजेट देश र जनताको हितमा भन्दा नेताहरुको चोचोमोचो मिलाउने गरी आएको छ । कसैको प्रभाव र पहुँचका आधारमा बजेट निर्माण भएको असन्तुलित बजेटलाई हामीले कसरी समर्थन गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
उनले बजेटले जनताको चुलो बल्ने सुनिश्चितता गर्न नसकेको आरोप पनि उनले लगाए । उनले भने, ‘यो बजेटले सिंगो देशको अर्थतन्त्रको संकट समाधान गर्न सक्दैन । कृषकमैत्री छैन । युवामैत्री र विद्यार्थीमैत्री त झन् हुन सकेन । युवा र खेलकुदमा जम्मा ०.१६ प्रतिशत छुट्याइएको छ । जनताको चुलो बल्ने सुनिश्तिता छैन ।’
सचेतक बर्तौलाले कर्मचारी र शिक्षकको तलब नबढाएको आक्रोश पनि पोखे । उनले भने, ‘राष्ट्रपतिले राजनीति गर्ने होइन । उनलाई सल्लाहकार किन चाहियो ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको भत्ता सुविधा घटाउनुपर्थ्यो । मन्त्रालयलाई घटाएर आधा बनाउनुपर्थ्यो । कर्मचारी र शिक्षकको तलब बढाउनुपर्थ्यो । बजेटमा त्यस्तो सकारात्मक कुरा केही देखिएन ।’



प्रतिक्रिया दिनुहोस्