Logo

कांग्रेस नेता भन्छन्– विशेष महाधिवेशन वैधानिक विकल्प हो, मरता क्या नहीं करता ?



काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चौधौं महाधिवेशन भएको १८ महिनासम्म पनि पार्टीले कुनै गति लिन नसकेको आरोप लगाएका छन् ।
‘शेरबहादुर देउवाले पार्टीका साथीहरु जनताको घरदैलोमा पुग्नुपर्छ भन्नु राम्रै कुरा हो । उहाँले सबैको सभापति भएर काम गर्छु भन्नुभएको थियो । १८ महिनामा त्यो कति सार्थक भयो ? पार्टीका ९० प्रतिशत ऊर्जावान् र सक्षम साथीहरुको असन्तुष्टि उत्कर्षमा पुगेको छ । त्यसैले हामी रुपान्तरण अभियानमा लाग्नुपरेको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता घिमिरेले पार्टीको संगठन, छवि र कार्यसम्पादनमा समस्या रहेको औंल्याए । उनले थपे, ‘वडादेखि केन्द्रसम्मको संगठन पूरै अव्यवस्थित छ । पार्टीका नेताहरुबीच नै सुमधुर सम्बन्ध छैन । पार्टीका अवयव कामकाजी छैनन् । भातृसंगठन अव्यवस्थित छन् । विधानको पालना भएको छैन । पार्टी विधि र पद्धति संगत हिँडेको छैन । सरकारमा जाँदा पनि राम्रो कार्यसम्पादन र सेवाप्रवाह हुन सकेन भन्ने जनमत छ । पार्टी बिग्रियो, सुधारौं भन्दा विरोध ठान्ने हो भने पार्टीको भविष्य के हुन्छ ?’
घिमिरे सहितका संस्थापन इतर नेताहरुले नेपाली कांग्रेसको रुपान्तरण अभियान चलाएका छन् । प्रदेश हुँदै जिल्ला जिल्ला र निर्वाचन क्षेत्रमा जाने चरणबद्ध कार्यक्रम रहेको उनले बताए ।
सभापति शेरबहादुर देउवा र संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाबीच पार्टीलाई एकताबद्ध अग्रसरता देखिनु सकारात्मक भएको पनि उनको टिप्पणी छ । घिमिरेले भने, ‘हो, आन्तरिक सम्बन्ध सुधारका निम्ति अग्रसरता देखिनुपर्छ । शेरबहादुर र शेखर कोइरालाबीच सहकार्य र एकता हुनु सकारात्मक कुरा हो ।’

पार्टीमा सुधारको सुनिश्चितता नदेखिए विशेष महाधिवेशनको विकल्प खुला रहेको पनि घिमिरेले औंल्याए । उनले भने, ‘सुधारको गुन्जायस देख्यौं भने अर्कै कुरा हो, हुँदै भएन भने वैधानिक विकल्प छँदै छ नि । पार्टीको विधानले देखाएको बाटोमा जानैपर्छ । मरता क्या नहीं करता ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot