काठमाडौं,२८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर भारत प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारको लागि भन्दै आज दिउँसो १ बजे उनी दिल्ली उडेको बताइएको छ ।
पछिल्लो समय नेपालबाट भारतजाने नेताहरुको लर्को नै लागिरहेको छ । गत हप्तामात्रै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दलबलसहित चार दिने औपचारिक भ्रमणमा गएर फर्किएका थिए । उनी भारतमा रहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दिल्ली पुगेको समचार नेपाली मिडियामा राम्रै छाएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली प्रस्थान गर्नु अघिनै जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछाने फर्किनासाथ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहपनि आफ्नो निजी कामका लागि भन्दै भारत प्रस्थान गरेका थिए । बालेन भारतमै रहेको बेला उनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको खबर भुषसरि फैलिएको थियो । धेरैले उनको उक्त कदम साहसिक भन्दै प्रशंसासमेत गरेका छन् ।
केही दिन भारतमा स्वास्थ्य उपचार गर्न दिल्ली उडेका ठाकुरले भारतका केह िनेताहरुसँग पनि भेटघाट गर्ने बताईएको छ ।