Logo

नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेता भन्ने पद नै छैन : सहमहामन्त्री मन्सुर



काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीचको सहकार्य अनौठो नभएको बताएका छन् ।
‘कांग्रेसभित्र देउवा र शेखरबीच नयाँ गठबन्धन बन्न लागेको हो कि होइन, मलाई जानकारी छैन । देउवा पार्टी सभापति हुनुहुन्छ, शेखर नेपाली कांग्रेसको नेता हुनुहुन्छ । महाधिवेशनमा उहाँहरु प्रतिस्पर्धी हुनुहुन्थ्यो । महाधिवेशन भएको १८ महिना भैसक्यो । पहिले उहाँहरुलाई सँगै बोलाइएन होला, अहिले बोलाइयो होला । तर सँगै बैठक बसेकै हो । केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय समिति, स्थानीय तह, प्रदेश, समानुपातिक, संघीय निर्वाचनमा सर्वसम्मतिले निर्णय भएको होइन ? उहाँले कहीं नोट अफ डिसेन्ट लेखेको थाहा पाउनुभएको छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
शेखरलाई वरिष्ठ नेता बनाउन देउवा तयार हुनुभएको हो भन्ने प्रश्नमा सहमहामन्त्री मन्सुरले भने, ‘म सुरुदेखि  नै वरिष्ठ नेता पदको विपक्षमा रहेको छु । किनभने नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेता भन्ने पद छैन । हुँदै नभएको पद कसैले पायो वा कसैले दियो भन्ने कुरा महत्त्वपूर्ण होइन । नेपाली कांग्रेसको माइन्युट लेख्दा शेखर कोइरालाको नाममा कहाँ आउँछ ? मलाई थाहा छैन । बैठक भएपछि नै थाहा होला ।’
पार्टीभित्र अर्ली महाधिवेशन वा विशेष महाधिवेशनको गुन्जायस नभएको उनको तर्क छ । मन्सुरले भने, ‘अर्ली महाधिवेशन कि विशेष महाधिवेशन, नेपाली कांग्रेसको विधानअनुसार हुने कुरा हो । केटाकेटीले अहिले नै हवाई जहाज चाहिन्छ भने जसरी त पाइँदैन । पार्टीको विधानले महाधिवेशन, महासमिति बैठक, नीति अधिवेशन कति वर्षमा हुने स्पष्ट उल्लेख गरेको छ । विशेष महाधिवेशन गर्ने हो भने पहिले त पार्टीले त्यसको आवश्यकता महसस गर्नुपर् यो नि । यो कुनै व्यक्तिको लहडमा बोलाउने कुरा त होइन नि ।’
उनले देउवाको नेतृत्वमा नेपाली कांग्रेस स्थानीयदेखि संघसम्मको निर्वाचनमा पहिलो पार्टी भएकाले असफल भन्न नमिल्ने दाबी गरे । मन्सुरले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भयो, स्थानीयदेखि संघसम्म । अनि उहाँ कसरी असफल हुनुभयो ? उहाँ कसरी राम्ररी चल्नुभएको छैन ? गगन थापालाई सोध्नुपर्ने प्रश्न मलाई नसोध्नुस् ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी सभापतिले कुनै काम गर्न नरोकेको पनि मन्सुरले बताए । उनले भने, ‘गगन थापाजी र विश्वप्रकाश शर्माजी नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ । उहाँहरु दुवै जनालाई महामन्त्रीको हैसियतले गर्नुपर्ने कुन काम सभापतिले रोक्नुभयो ? उहाँहरुले के के बोल्नुभयो, मैले अखबारबाट होइन, पार्टीको बैठकबाट थाहा पाएको कुरा नै आधिकारिक हुन्छ ।’
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबस्दैमा आकाश नखस्ने पनि उनले बताए । मन्सुरले भने, ‘केन्द्रीय समितिको बैठक पार्टी सभापतिले बोलाउने हो । त्यो छिट्टै हुन्छ । कार्यसम्पादन समितिको बैठक भएकै छ । केन्द्रीय कार्यसमितिको बैठक नबस्दा आकाशै खस्ने र पहाडै खस्ने कुरा त आएको छैन नि ।’ उनले पार्टी पहिलेभन्दा सुदृढ भएको दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot