काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट विनियोजन गर्दा मधेसलाई कुनै प्रकारको विभेद नगरेको प्रष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै महतले मधेस प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको स्पष्ट पारेका हुन् ।
“पूर्व-पश्चिम राजमार्ग, पथलैया-वीरगञ्ज कोरिडोर, चन्द्रपुर-गौर राजमार्ग,हुलाकी राजमार्ग, सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहरलगायतका सिंचाई आयोजनालगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनामा उल्लेख्य रकम विनियोजन भएको छ”, उनले भने ।
अर्थमन्त्री डा.महतले तराई मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको बताउँदै विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजना मधेश प्रदेशमै सञ्चालित रहेको बताए । शहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेस प्रदेशमा विनियोजन भएको उनको भनाइ छ ।
मधेस प्रदेशमा ठूलो जनसंख्या भएकाले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ । प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करिब १५ प्रतिशत मधेस प्रदेशमा गएको उनको भनाइ छ ।