Logo

वन तथा वातावरणमन्त्री डा. महतो भन्छन् : यूरो-३ गाडी बन्द गर्नुपर्छ (भिडिओसहित)



काठमाडौं, २९ जेठ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वातावरण सफा बनाउनको लागि आफूले विशेष पहलकदमी लिने विश्वास दिलाएका छन् । सञ्जय सिलवाल गुप्ताको चर्चित पडकास्टमा कुरा गर्ने क्रममा आफ्नो एजेण्डा सेयर गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् । उनले भने,”मेरो पहिलो प्राथमिकता भनेको नै वातावरण सफा बनाउनु हो । सरकारले वातावरण सफा बनाउनको लागि करोडौं रकम खर्चिने गरेको छ । तर, विश्व परिवर्तन भैसकेको छ । हामी यहीँ एशियाको कुरा गरौं । भुटानको कुरा गरौं, बंगलादेशको कुरा गरौं, हाम्रो छिमेकी भारतकै कुरा गरौं, त्यसमा अहिले जति गाडीहरु उत्पादन भैरहेका छन्, हाम्रै सडकमा गाडीहरु गुडेको हेर्नुहोस, एक त २० वर्ष पूराना गाडी छन्, तिनले कति प्रदुषण गर्छन् ? यो प्रदुषणले मान्छेको जीवनमा प्रत्यक्ष असर पर्छ नि । श्वाँसप्रश्वाँस त मान्छेको जीवनसँग जोडिएको कुरा हो, तर सवारीकै कारण वायु प्रदुषण भैरहेको छ, यो रोक्नुपर्छ ।”

मन्त्री महतोले नेपालमा विद्युतीय सवारीहरु भित्रिन थालेकोमा प्रशंसा र खुशी व्यक्त गरे । उनले भारतमा समेत युरो-८ लागु भएको सुनाए । भारतले युरो-६ गाडीहरु ६ वर्षअघि नै बन्देज गरिएको र ती गाडीहरु डम्पिङ गरिएको मन्त्री महतोले सुनाए । अहिले भारतमात्रै नभएर बंगलादेश र भुटानले पनि त्यही गरेको उनको भनाई छ ।

उनले भने,”तर विडम्बना हाम्रो देशमा अहिलेसम्म युरो-३ का गाडी चलिरहेका छन्। युरो ३ का गाडी भनेको, पोलुसन नाप जाँच गर्दाखेरि कुनैपनि गाडी उपयुक्त छैन । यसले प्रदुषण गर्छ । त्यसकारण यो कुरा चेन्ज गर्न एकदमै जरुरी छ । तर, यो काम गर्न अलिक कठिन पनि छ । प्रेसर पनि हुन्छ । म यो जिम्मेवारीमा आएपछि नै मैले यो चीजलाई पहिलो प्राथमिकतामा राखेको छु । सवारीबाट निस्किने प्रदुषणको कारण हजारौं मान्छेको जीवनलाई प्रत्यक्ष नकारात्मक असर गरेको छ । यसलाई रोक्न जरुरी छ ।”

मन्त्री महतोले विगतमा सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर हुने गरेको तथ्यांक भएपनि पछिल्लो समय वायु प्रदुषणबाट पनि क्यान्सर हुने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्