Logo

अनियमित वर्षाले समस्यामा कृषक



काठमाडौं, जेठ ३० । तापक्रम र मनसुनको उतारचढावले कृषि उत्पादनमा गहिरो असर पर्न थालेको छ । नेपालको खेती मौसमी प्रणालीमा निर्भर छ तर कृषिसँग सम्बन्धित मौसमी सूचना अनिश्चित छ । जसका कारण किसानले बारम्बार नोक्सानी बेहोर्नुपरेको कृषि विज्ञहरूको गुनासो छ ।

अघिल्लो वर्ष असोजमा बेमौसमी वर्षा हुँदा खेतमै काटेको धान सोत्तर बन्यो । यो वर्ष हिउँदमा कम वर्षा हुँदा बाली राम्रो उत्पादन भएन । यस पटकको वर्षामा पनि कम पानी पर्ने पूर्वानुमान छ तर मनसुन भित्रिने र सक्रिय रहने सही समयको सूचना किसानले पाउन सकेका छैनन् ।

गत साताको खडेरीले धानको ब्याड सुक्यो, मकैका बोट सुके । बाली रोगविज्ञ चेतना मानन्धरका अनुसार खडेरीमा बाली सखाप हुने समस्या बढी आउँछ । उनले भने, “सुकेको बोट फेरि बिउँतिन्छ वा बिउँतिँदैन वा रोग लाग्यो कि भनेर जँचाउन किसान आइरहेका छन् । त्यसैले मौसमी समस्याको जानकारी दिनु आवश्यक छ ।”

पानी र वातावरणको असन्तुलनका कारण मौसमी बालीमा रोग तथा किराका समस्या पनि देखिन्छन् । बाढी, डुबान र खडेरीको विकल्पसहितको जानकारी नहुँदा बाली नोक्सान हुने प्रबल सम्भावना रहेको उनको भनाई छ । बायोटिक समस्याले देखिने रोगको पहिचान गरेर उपचार गर्न सकिन्छ ।

पहिल्यै उपचार गरेर लगाइएमा पनि रोग र वातावरणको असर कम पर्ने उनको सुझाव छ । मनसुन ढिला हुँदै जाँदा रोपाइँ यो वर्ष पनि सामान्यभन्दा पर सर्ने भएको छ । सुरुवाती चरणमा मनसुन कम सक्रिय हुने भएकाले पनि समस्या आउने उनी बताउन्छन् ।

त्यस्तै मनसुनमा हुने वर्षाको दर र कहिले कति वर्षा हुन्छ भन्ने यकिन जानकारी छैन । उनले भने, “मनसुन सुरु भएको एक सातामै मनसुन ब्रेक हुँदा किसान समस्यामा पर्न सक्छन् ।” गत हिउँदमा कम वर्षा हुँदा गहुँ र तोरी बाली उत्पादनमा असर पुग्यो । तरकारी बालीतर्फ व्यावसायिक खेतीमा थोपा सिँचाइले राहत दिए पनि खुला खेतीमा निर्भर साना किसानको बाली राम्रो भएन ।

वर्षाको उतारचढावले जनजीविकाको आधार मानिने खाद्य चक्रमा गहिरो खाडल सिर्जना गर्ने अनुमान कृषि विज्ञले गरेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्