Logo

जनमत पार्टी एक हप्ताभित्रै सरकारमा जान्छ : अब्दुल खान



काठमाडौं, ३० जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले आफ्नो पार्टी यो हप्ताभित्र सरकारमा सामेल हुन सक्ने दाबी गरेका छन् ।
‘हाम्रो पार्टी मधेस र लुम्बिनी प्रदेश सरकार सामेल छ । संघ सरकारलाई दिएको समर्थन पनि कायमै छ । तर कुन मन्त्रालयमा कहिले जाने भन्ने टुंगो लागिसकेको छैन । हाम्रो भागको मन्त्रालय प्रधानमन्त्री आफैंले राखेकाले उहाँलाई फिर्ता गर्न अप्ठ्यारो छैन । उहाँले कसरी मिलाउनुहुन्छ ? केही दिन पर्खौं न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सरकारमा जाने स्थितिमा कसलाई मन्त्री पठाउने भन्ने विषयमा पार्टीमा छलफल नभएको पनि खानले बताए । उनले भने, ‘खासगरी हाम्रो पार्टीभित्र मन्त्रीको विषयमा छलफल भएको छैन । तर अध्यक्ष सीके राउत मलाई मन्त्री पठाउन पोजेटिभ नै हुनुहुन्छ ।’
कृषि, सहरी विकास र उद्योगजस्ता विकास र सेवामूलक मन्त्रालयमा जनमत पार्टीको माग रहेको खानले बताए । उनले भने, ‘यो वा त्यो मन्त्रालयमा हाम्रो कुनै दाबी छैन । तर कृषि, सहरी विकास र उद्योगजस्ता विकास र सेवामूलक मन्त्रालय दिनुपर्छ भन्दै आएका छौं । हामीले खोजेको भनेको देशको विकास र राजनीतिक स्थायित्व नै हो । जनमतलाई सरकारमा लग्दै नलग्ने भए अर्कै कुरा हो । नत्र सरकारले जनमतलाई छोड्नु पनि ठीक छैन, हामी सरकारमा नजानु पनि ठीक छैन ।’



प्रतिक्रिया दिनुहोस्