काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टीका नेता एवं सांसद राजकिशोर यादवले नयाँ बजेट जनतामा आशा, भरोसा र उत्साह जगाउन असफल भएको बताएका छन् ।
‘बजेटका सम्बन्धमा छलफल चलिरहेको छ । विपक्षको मात्र नभएर सत्तापक्षका सांसदमा पनि एकप्रकारको नाराजगी र असन्तुष्टि छ । यसलाई सुधार गरेर गयो भने एउटा स्थिति होला । यथास्थितिमा बजेट पास गर्न गाह्रै छ । त्यस्तो छाँटकाँट पनि देख्दिनँ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
यादवले जिल्ला वा निर्वाचन क्षेत्रको विकासका लागि प्रधानमन्त्री वा अर्थमन्त्री नै हुनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेको औंल्याए । उनले भने, ‘बजेट असन्तुलित छ । यसबारे जसपाभित्र र बाहिर व्यापक असन्तुष्टि छ । मन्त्रीहरुले बजेटलाई निजी बपौती जस्तो ठानेका छन् । हामी पनि निर्वाचित सांसद हौं । आफ्नो निर्वाचन क्षेत्र वा जिल्लाप्रति हाम्रो पनि कर्तव्य र दायित्व छ । बजेटमा मधेसलाई उपेक्षा गरिएको छ । अर्थमन्त्रीले अझै त्यसको रियलाइजेसन गर्नुभएको छैन ।’
सांसद यादवले आफूहरु सरकार ढाल्ने वा असफल बनाउनेतिर नलागेको पनि बताए । उनले भने, ‘मुलुकलाई लयमा लैजान सबै पक्ष सँगै हुनुपर्छ । वर्तमान सरकार अर्थतन्त्रको सुधार र सुशासनको चुनौती सामना गर्न बनेको हो । यो सरकार अगाडि गएन भने मुलुकमा राजनीतिक दुर्घटना हुन्छ । अहिले नै हामीले त्यस्तो कल्पना गरेका छैनौं ।’
चुरे दोहनका कारण मधेस मरुभूमीकरणतर्फ उन्मुख भएको पनि यादवले बताए । उनले थपे, ‘चुरे भनेको लाइफलाइन हो । यसलाई खेलबाड गर्नुहुन्न । चुरे विनाशले मधेस मरुभूमीकरण हुन्छ । वातावरणीय दुष्प्रभावलाई न्यूनीकरण गर्न पनि चुरेको संरक्षण आवश्यक छ ।’ जसपाले जनमत पार्टीलाई सरकारमा जान नरोक्ने पनि उनले बताए ।