Logo

शेरबहादुर देउवाको उत्तराधिकारी फलानो भन्नु कांग्रेसलाई कमजोर बनाउने राजनीतिक जालझेल हो : सहमहामन्त्री



काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बजेटकै कारण सरकारलाई ‘आपत्’ नपर्ने बताएका छन् ।
‘प्रधानमन्त्री वा मन्त्रीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा अलि बढी बजेट राख्नुभएको होला । तर यही कारणले सरकारलाई आपत् आउँदैन । हाम्रा नेताहरुले कस्ता कस्ता कुरा त समन्वय गरेका छन् । बजेटबारे पनि गठबन्धन दलहरुबीच समन्वय हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता यादवले भने । उनले नेकपा (एकीकृत समाजवादी) पनि सरकारको एक पक्ष भएकाले उसका सांसदहरुले प्रधानमन्त्री वा अर्थमन्त्रीलाई भेट्नु अनुचित नभएको पनि बताए ।
सहमहामन्त्री यादवले नेपाली कांग्रेसमा विशेष महाधिवेशनको औचित्य नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘पार्टी सभापतिले अर्को महाधिवेशन लड्दिनँ भनिसकेपछि अब विशेष महाधिवेशन कसलाई किन चाहिएको ? उहाँकै कार्यकालमा नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी भएको छ ।’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा नेतृत्वको आवश्यकता औंल्याउनुभएको छ नि भन्ने प्रश्नमा यादवले भने, ‘म पनि युवा नै छु । महामन्त्रीहरु पनि युवा हुनुहुन्छ । उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र सहमहामन्त्रीहरु पनि युवा नै हुनुहुन्छ । यो केन्द्रीय कार्यसमितिमा युवाकै वर्चस्व छ ।’
सहमहामन्त्री यादवले सबैलाई मिलाएर लैजाने दायित्व महामन्त्रीहरुको पनि भएको बताए । उनले भने, ‘नेता भनेको भीडको पछि लाग्ने होइन, भीडलाई पछि लगाउने हो । मिडिया वा सामाजिक सञ्जालको लाइक पाउनका लागि बोल्ने हो र ? महामन्त्रीहरुले केन्द्रीय समिति र पदाधिकारी बैठकमा बोल्नुपर् यो नि । पार्टीलाई मिलाउने सभापति, उपसभापति, महामन्त्री सबैको जिम्मेदारी हो । शेखर कोइरालाले भनेजस्तै हामी एउटै डुंगामा उभिएका छौं । कार्यकर्तामा आशा जगाउने काम हाम्रो हो ।’
वडादेखि केन्द्रसम्म निर्वाचन गराउँदा पार्टी क्षतविक्षत भएकाले अब सर्वसम्मत महाधिवेशन गर्नुपर्ने पनि उनले बताए । साथै यादवले शेखर कोइरालालाई ‘वरिष्ठ नेता’ बनाउने बारेमा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘नेताहरु मिल्नु कांग्रेसका लागि राम्रो हो । तर शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने बारे मलाई थाहा छैन । शेरबहादुरजीको कार्यकाल अझै तीन वर्ष बाँकी छ । उहाँले पनि मेरो उत्तराधिकारी फलानो हो भन्नुभएको छैन । मलाई त यो कांग्रेसलाई कमजोर बनाउन भनिएको राजनीतिक जालझेल जस्तो लाग्छ ।’
अर्को प्रसंगमा नेता यादवले पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको जिकिर गरे । उनले भने, ‘कसैलाई बचाउने वा नबचाउने म न्यायाधीश होइन । तर खाँडका सम्बन्धमा कुनै प्रमाण भेटिएको छैन । बालकृष्ण खाँडका विरुद्ध कसैले जाहेरी दिएको छैन । न बालकृष्ण खाँडको खातामा पैसा देखिएको छ ।’ साथै उनले सचिव टेकनारायण पाण्डेले पनि खाँडको नाम नलिएको र एक करोड २५ लाख लेनदेन झूटो प्रचार भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot