काठमाडौं, जेठ ३० । व्यवसायीक सञ्चालमा आएको एक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । निगमको १५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट पहिलो पटक भैरहवामा अन्तर्राष्ट्रिय उडान भरेको हो ।
मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानलाई स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका छन् । निगमको एयरबस क्वालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौं आउने उडान तालिका रहेको छ ।
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौँको उडान ‘टर्न–अराउड’ हो । हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँने छैन।
४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवा पुग्ने जहाजको मलेसिया–भैरहवाको भाडा दर ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ तोकेको छ ।
विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि जजिरा एयरलाइन्स उडान गर्दै आएको थियो । बीचमा हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले दुबै एयरलाइन्सले उडान रोकेका छन् । जजिरा र हिमालयले यात्रु अभावको कारण देखाउँदै उडान रोकेका हुन् ।