Logo

संयुक्त राष्ट्रसङ्घीय चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी नेपालमा सुरु



काठमाडौं,३० जेठ । संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी आजबाट नेपालमा सुरु भएको छ ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम् प्रविधिको प्रयोग गर्ने उद्देश्यले आयोजना गरिएको सातौँ संस्करणको संगोष्ठी आगामी असार १ गतेसम्म सञ्चालन हुनेछ ।

विश्वमा भइरहेका सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती एवम् असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको हो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज आयोजित विशेष समारोहमा उक्त गोष्ठीको उद्घाटन गरेका छन् ।

रक्षा मन्त्रालयको अगुवाइ र नेपाली सेनाको समन्वयमा सञ्चालित उक्त संगोष्ठीमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिको सहभागिता छ ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालयबाट कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरे, सहायक महासचिवद्वय बेर्नार्डो र मार्था हेलेना लोपेज संयुक्त राष्ट्रसङ्घ डिसइङ्गेजमेन्ट फोर्स कमान्डरलगायत विभिन्न ११ वटा शान्ति मिसनका प्रतिनिधिको सहभागिता रहनेछ ।

संगोष्ठीमा विश्वका ४७ मुलुक तथा संयुक्त राष्ट्रसङ्घका ४२ सदस्य राष्ट्रका प्रतिनिधि र विभिन्न विषय विज्ञसहित दुई सय ३० जनाको सहभागिता छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकाय कार्यक्रम पहिलो पटक सन् २०१४ मा इटालीबाट सुरु भएको उक्त संगोष्ठी यसअघि दक्षिण अफ्रिकामा सम्पन्न भएको थियो ।

नेपालले संयुक्त राष्ट्रको विश्वशान्ति स्थापना कार्यमा सन् १९५८ देखि साथ र सहयोग प्रदान गर्दै आएको छ । हालसम्म एक लाख ४५ हजार आठ सय १३ नेपाली शान्ति सैनिकले विश्वमा यसअघि स्थापना भएका शान्ति मिसनमा परिचालित भइ योगदान पु¥याइसकेका छन ।

विश्व शान्ति स्थापना कार्यमा खटिने क्रममा नेपाली सेनाका ७२ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते छन् । नेपाली सेना विश्वमै व्यावसायिक, सहासिक र अनुशासित सेनाको कोटीमा अग्रस्थानमा रहेको भनी संयुक्त राष्ट्रसङ्घबाट प्रशंसासमेत हँुदै आएको छ ।

धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल हाल दोस्रो वरियतामा छ । हाल विश्वमा स्थापना भएका १३ वटा शान्ति मिसनमा नेपाली शान्ति सैनिक परिचालित छन् । हाल ती मिसनमा कार्यरत नेपाली शान्ति सैनिकको सङ्ख्या ६ हजार दुई सय ६४ पुगेको छ । रासस



प्रतिक्रिया दिनुहोस्