Logo

लिम्बू भाषाको पाठ्यपुस्तक वितरण



पथरी, ३१ जेठ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो ।

पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४ का कक्षा १ देखि कक्षा कक्षा ५ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गरेको हो । दुई विद्यालयमा गरी करिब तीन सय ६३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

पाठ्यपुस्तक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, किरात याक्थुङ चुम्लुङ सङ्घीय सदस्य सन्तोस सेरेङ, याक्थुङ चुम्लुङ पथरी शनिश्चरेकी सदस्य इन्द्रमाया लिम्बूले विद्यार्थीलाई पुस्तक वितरण गरेको हो । पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगबाट प्राप्त भएको हो ।

पाठ्यपुस्तक वितरण कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेमबहादुर पयाङ्गु लिम्बूले सरकार र स्थानीय निकायबाट भाषा संरक्षणका लागि पहल नभएको गुनासो गरे । शिक्षकलाई सन्तुष्ट हुने गरी तलब भत्ता दिन नसकिएको र नगरस्तरबाट अनुगमन फितलो भएको एवं अध्यापनका लागि पर्याप्त बजेट नहुँदा अरुकै आशले बाँच्नुपर्ने अवस्था रहेको उनले बताए ।

नगरप्रमुख तुम्वापोले भाषा संरक्षणका लागि नगर गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्ना गर्ने प्रतिबद्धता जनाए । उनले भाषाको संरक्षणका लागि समितिले गरेको कामको प्रशंसा गर्दै पछिल्लो अवस्थामा केन्द्रीयस्तरबाटै बजेट कटौती भएको कारणले अपेक्षा गरेबमोजिम काम हुन नसकेको बताए ।

हाल लिम्बू भाषा अध्यापन गराउँदै आएका शिक्षकले मासिक तलबवापत रु छ हजार र भत्तावापत रु १० हजार पाउँदै आएका छन् । हाल पथरी शनिश्चरेका दुई विद्यालयले कक्षा ७ सम्म भाषा अध्यापन गराउँदै आएको छ भने आउँदो शैक्षिकसत्रमा कक्षा ८ सम्म लैजाने समितिले जानकारी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot