Logo

मदन भण्डारीको हत्यामा प्रस्तावित प्रधानन्यायाधीशको संलग्नता छ भनेर उजुरी आयो : कांग्रेस नेता



काठमाडौं, ३२ जेठ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका २९ उजुरी नियतवश आएको बताएका छन् ।
‘प्रस्तावित प्रधानन्यायाधीशमाथिका २९ वटामा उजुरीमा एउटै शब्द, कमा, फुलस्टप छन्, नाममात्र फरक छ । एउटै व्यक्तिले टाइप गरेजस्तो अन्तिम सम्म एउटै बेहोरा छ । उहाँविरुद्ध संस्थागत रुपमा नियतवश उजुरी दिएको देखिन्छ । कतिपय उजुरीकर्ता कीर्तेमा परेर जागिर खोसिएका मान्छे पनि आएका छन् । कतिपय मुद्दा हारेका मानिस आएका छन् । यति मात्र होइन, मदन भण्डारीको हत्यामा प्रस्तावित प्रधानन्यायाधीशको संलग्नता छ भनेर पनि नियोजित हिसाबले उजुरी आयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । रायमाझी संसदीय सुनुवाइ समितिका सदस्य छन् ।
नेता रायमाझीले उजुरीकर्ता न्यायाधीश श्रीकृष्ण भट्टराई कोड अफ कन्डक्टभन्दा बाहिर गएको पनि टिप्पणी गरे । उनले भने,’ न्यायाधीश श्रीकृष्ण भट्टराई यसरी खुलेआम आउनुभन्दा न्यायालयभित्रै जानुपथ्र्यो । कतिपयले संगठित तवरमा उजुरीकर्ता भनेर हल्ला गर्न आएका छन् । श्रीकृष्ण भट्टराई स्वयं उनीहरुलाई आक्रोशित बनाउने खालको मुडमा हुनुहुन्थ्यो ।’
फरक प्रसंगमा रायमाझीले बजेट संशोधन गर्ने भन्दा पनि बजेट पास गरिसकेपछि पुनरावलोकन गर्नु उचित हुने औंल्याए । उनले भने, ‘विगतमा हामी प्रतिपक्षमा हुँदा १ रुपियाँ वा सय रुपयाँ घटाइयोस् भनेर चेतावनीस्वरुप माग राख्थ्यौं । बजेट पास भएन भने सरकार फेल हुने हो । त्यसैले बजेट संशोधन हुन सक्दैन । कसैले सार्वजनिक खपत वा पोलिटिकल स्टन्टका लागि भन्नु बेग्लै कुरा हो ।’ साथै उनले जो सरकारमा छ, उसकै जिल्लामा मात्र बजेट खन्याउनु भ्रष्टाचार भएको पनि बताए ।
साथै रायमाझीले कसैले भन्दैमा पार्टीमा विशेष महाधिवेशन हुन नसक्ने पनि बताए । उनले भने, ‘विशेष महाधिवेशनको प्रक्रिया छ, पद्धति छ । महाधिवेशन प्रतिनिधिहरुले आवश्यक छ भने हुन पनि सक्ला । तर अहिले समय र परिस्थिति अनुकूल छैन । हाम्रा दुई महामन्त्रीहरु त्यसमा नलाग्नु राम्रो हुन्छ । अहिले कांग्रेस ठूलो पार्टी बनेको छ । सबै तहका सरकारमा सामेल छ । विपक्षमा बस्नका लागि, चुनाव हार्नका लागि राजनीति गर्ने हो र ?’
पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला मिल्दा गौरव नै गर्नुपर्ने पनि रायमाझीले बताए । उनले भने, ‘पार्टीभित्र गुट-उपगुट समाप्त हुनु राम्रो कुरा हो । शेरबहादुर देउवा र शेखर कोइराला दुई नेता मिल्दा हामीले गौरव नै गर्नुपर्छ ।’ शेखरलाई वरिष्ठ नेता बनाउने कि नबनाउने आफूलाई थाहा नभएको पनि उनले स्पष्ट पारे । रायमाझीले भने, ‘तर पार्टीको आवश्यकता अनुसार केन्द्रीय समितिले निर्णय गरेर बनायो भने हामीले स्वीकार्नै पर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot