Logo

एकीकृत समाजवादीका प्रवक्ताको टिप्पणी– सरकार ढाल्छु भन्न नपाउने पनि हुन्छ र ?



काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चा निर्माणको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै घोषणा हुने बताएका छन् ।
‘नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र हामी समाजवादी मोर्चा निर्माणका लागि लामो समयदेखि लागिरहेका छौं । एक चरणमा धेरै अगाडि बढिसकेको थियो । अरु पनि थपिन्छन् भनेर रोकिएको हो । बीचमा सरकारको नीति तथा कार्यक्रम, बजेट आदिले अल्झाएको थियो । अब केही दिनभित्रमा घोषणा होला । यसलाई रोक्न कोही आउँदैन, लागेको कुरा हो । बनिहाल्छ । त्यत्रो भनिहाल्नु पर्दैन । कोही रोक्न आउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रवक्ता खतिवडाले राष्ट्रिय हितमा एउटै आवाज उठाउन सक्ने गरी मोर्चा बनाउन लागेको पनि बताए । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच सरकारलाई बलियो बनाउने छलफल चलिरहँदा सरकार ढाल्ने कुरा किन गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘हो, नेताहरुले गठबन्धनलाई बलियो बनाउने कुरा गर्नुभएको हो । तर त्यो बलियो भनेपछि सरकार छोड्न सकिन्छ, राजीनामा दिन सकिन्छ, सरकार ढाल्न सकिन्छ । यो सरकार ढालेर अर्को सरकार बनाउन सकिन्छ । सरकार ढाल्छु भन्न पनि नपाउने हुन्छ र ? सरकारबाट धेरैले समर्थन फिर्ता लिइरहेका छन् । त्यो पनि लिन सकिन्छ ।’
कहिलेसम्म सरकार ढाल्नुहुन्छ भन्ने अर्को प्रश्नमा खतिवडाले थपे, ‘हामी नभएको भए यो सरकार नै बन्ने थिएन । यसमा बेलैमा सचेत भइएन भने बजेट पारित नहुने सरकार ढल्ने दुवै हुन सक्छ । तर कहिले ढल्छ भन्ने कुरा आजको आजै भन्नुपर्ने के छ र ?’



प्रतिक्रिया दिनुहोस्