काठमाडौं,३२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका प्रतिवादीहरुको तर्फबाट काठमाडौं जिल्ला अदालतमा प्रतिरक्षा बहस जारी रहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा ११ दिनदेखि जारी प्रतिरक्षा बहस अन्तिम चरणमा पुगेको छ ।
मंगलबारनै प्रतिवादीका तर्फबाट बहस सकाएर हिजो फैसला सुनाउने तयारी भएपनि प्रतिरक्षा बहस गर्ने वकिलको संख्या अधिक भएको कारण थुनछेक बहस केही लम्बिएको हो ।
आज भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको तर्फबाट प्रतिरक्षा बहस भइरहेको छ । खाजा समयसम्म रिजालको तर्फबाट सात वकिलले बहस गरेका छन् भने अझै केही वकिलले उनको तर्फबाट बहस गर्नेछन् । अहिलेसम्म रिजालको तर्फबाट अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्ठराई र प्रकाश बस्नेतलले बहस गरेका छन् । चिया ब्रेक पछि थप केही अधिवक्ताले बहस गर्ने बताइएको छ ।
अब यस प्रकरणमा पक्राउ परेका १८ जनामध्ये ललितपुरका लक्ष्मी मर्हजन र हरिभक्त मर्हजनको तर्फबाट प्रतिरक्षा बहस बाँकी रहेको छ ।
शरणार्थी प्रकरणमा नेकपा एमालेका सांसद तथा निलम्बित सचिव टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल,नेपाल सरकारका सचिव टेकनारायण पाण्डे,कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा कांग्रेसकै नेता तथा पूर्वसांसद आङटावा शेर्पालगायत १८ जना प्रहरीको हिरासतमा रहेका छन् ।