Logo

नक्कली शरणार्थी प्रकरण: आज आदेश हुने



काठमाडौं, असार १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन असफल भएको जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको बहस सकिएको छ। न्यायाधीश न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरूको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्नेछन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

मंगलबार नै आदेश गर्ने जनाइएको थियो। तर शरणार्थी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूको पक्षमा बहस लम्बिएको थियो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेमध्ये एक आदेश जिल्ला अदालत काठमाडौंले गर्नेछ।

आरोपितहरूको भूमिका, संलग्नता, प्रमाणका आधारमा इजलासले हिरासतमा रहेकालाई एकै प्रकारको आदेश नगर्न पनि सक्छ। उनीहरूलाई फरकफरक आदेश हुन सक्छ। शुक्रबार थुनछेक आदेशपछि मात्र अदालतमा मुद्दाले प्रवेश पाउनेछ। मुद्दामा जिल्ला अदालतबाट आदेश हुन भने केही समय लाग्नेछ। जिल्ला अदालतले गरेको थुनछेक आदेशमा चित्त नबुझे दुवै ९आरोपी र सरकारी वकिल० पक्ष पुनरावेदनका लागि उच्च अदालत जाने बाटो खुल्नेछ।

घटनामा संलग्न १२ जना अझै फरार छन् भने विभिन्न मितिमा पक्राउ परेका १८ जना हिरासतमा छन्। पक्राउ परेका रायमाझी, खाणसहितलाई रिहाको आदेश हुन सक्ने भन्दै विभिन्न पक्ष र समूहले माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्