काठमाडौं, १ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीको रुपमा संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई च्यापेपछि सो खेमाका नेता पूर्णबहादुर खड्का रुष्ट बनेका छन् ।
लामो समयदेखि सभापति देउवालाई साथ दिँदै आएका उपसभापति खड्का यसपटक देउवा र उनकी पत्नी डा. आरजु राणासँग टाढिएको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ । खड्काले कांग्रेससँगको गठबन्धन तोडेर एमाले कित्तामा पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसकै कित्तामा पूनः फर्काउन मेहनत गरेको चर्चा छ ।
त्यही भएर प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा खड्का उपप्रधान एवम् रक्षामन्त्रीको जिम्मेवारीमा छन् । पछिल्लो समय उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्री दाहाललाई साथ दिँदै आएका छन् । सभापति देउवासँग उनको भेटवार्तासमेत पातलो हुन थालेको चर्चा छ । यो बीचमा देउवाले पार्टी नेतृत्वमा शेखरलाई स्थापित गराउनेगरि मुभ थालेका छन् ।
पार्टीको कामको सिलसिलामा चितवन जाँदा देउवाले शेखरसँग एउटै जहाजमा यात्रा तय गरेका थिए । सो क्रममा उनले आफू १५औं महाधिवेशनमा नेतृत्वमा नउठ्ने भन्दै शेखरलाई सघाउने संकेत गरेका थिए । उता, संस्थापनइतर पक्षको नेतृत्व गरेका शेखर र महामन्त्री गगनकुमार थापाबीच पनि सुमधुर सम्बन्ध छैन् ।
अहिले दुई नेताबीच पानी बाराबारको अवस्था छ । शेखरले सभापति देउवाको बचाउ गर्दा गगनले भने सार्वजनिक रुपमै नेतृत्वको कडा आलोचना गर्ने गरेका छन् । उता, देउवाको उत्तराधिकारीको रुपमा तयारी थालेका नेता खड्काले देउवाबाट नै धोका पाउने संकेत पाएपछि अहिले पार्टीभित्र आफ्नो नेतृत्वमा नयाँ गुट जन्माउने कसरत गरेका छन् ।
आफ्नो नेतृत्वमा जन्माउने नयाँ गुटमा उनले महामन्त्री गगनको साथ खोजेको चर्चा छ । देउवा र शेखरलाई कुनैपनि हालतमा सफल हुन नदिनको लागि खड्का र थापाबीच नयाँ ढंगले सहकार्य भयो भने आश्चर्य नमान्न कांग्रेस नेताहरुको दाबी छ । यतिवेला उपचारको सिलसिलामा सभापति देउव सिंगापुरमा छन् । पार्टीको कार्यवाहक सभापतिमा खड्का नै छन् । file photo