काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डोलप्रसाद अर्यालले भारतीय प्राविधिहरूले नेपाली भूमी आएर नेपालको भूभाग नापजाँच गर्दापनि नेपाली सुरक्षाकर्मी सुईको समेत थाहा नभएको र नेपाली सुरक्षाकर्मीलाई जागिरका लागि मात्रै सीमामा खटाइएको हो भन्दै प्रश्न गरेका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आर्यालले भने, ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु। असार १ गते भारतीय प्राविधिकको टोलीले इन्डियन नेसनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डाचौकीहुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे। सर्भेका सामानसहित आएका ती प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन्।’
उनले नेपाली सुरक्षाकर्मीहरूलाई सीमामा जागिर खानका लागि मात्रै खटाएको हो भन्दै प्रश्न गरे। उनले भने, ‘सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए। उनीहरुले गलत काम भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन। त्यसैले त्यसको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’