Logo

मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा



काठमाडौं, असार ४ । काठमाडौंमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ। अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।

समितिका तत्कालीन सदस्य सचिव एवं वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि यस्तो व्यवस्था मिलाइएको हो। यसैकारण कार्यरत ५६ जना ज्यालादारी तथा १ सय १० जना करारका कर्मचारीलाई हाजिर गर्न दिनदिनै कार्यालयमा जानुपर्दैन।

उनीहरूले आफू फिल्डमा गएको जानकारी मोबाइल एपबाट कार्यालयमा पठाएमा हाजिरी भएको मानिन्छ। त्यहाँ स्थायी कर्मचारीको दरबन्दी २८ छ। अधिकांश कर्मचारी ज्यालादारी र करारमा छन्। उनीहरूको तलबसुविधा पनि घरमै पुग्छ। अर्थात् तलबभत्ताका लागि पनि उनीहरू कार्यालय जानुपर्दैन। अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले उनीहरू सबैको तलब बैंकमा पठाइदिन्छ।

समितिका आइटी प्रमुख रोहित कँडेलका अनुसार ज्यालादारी तथा करारमा कार्यरत सबै कर्मचारीको मोबाइलमा आरसिएमसी (रिभर क्लिनर मोनिटरिङ सिस्टम) नामक एप राखिएको छ।

अस्थायी तथा ज्यालादारी कर्मचारीले फिल्डमा गएका बेला सम्बन्धित ठाउँको फोटो र समयसमेत अपलोड गरी मोबाइलमा पठाएमा हाजिरी गरेको मानिने कँडेलले बताए। उपत्यकाका २८ वटा नदी–खोला ती कर्मचारीका फिल्ड हुन्। उपत्यकाका सबै नदीखोला हेर्ने अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिलाई दिइएको छ।

‘ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीहरू उपत्यकाका २८ वटा नदीखोलामध्ये कुनै एउटामा गई फोटो खिचाए हाजिरी पुग्छ,’ स्रोतले भन्यो, ‘कुनै कर्मचारी हेटौडा गएको बेलासमेत हाजिरी गरेको देखियो।’ तर आइटी प्रमुख कँडेलका अनुसार समितिकै काममा एक सवारीचालकले हेटौंडा पुगेका बेला हाजिरी गरेको देखिएको हो। उनले कुनै कर्मचारीले बदमासी नगरून् भनेर नियमित अनुगमन भइरहेको बताए।

समितिका सदस्य सचिव तथा वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहराले भने कुनै कर्मचारीले असम्बन्धित ठाउँबाट हाजिरी गरेको देखिएमा तत्काल कारबाही हुने बताए। ‘पहिलोपटक गल्ती गर्दा सचेत गराउँछौं। दोस्रोपटक पनि यस्तै गल्ती गरे कारबाही गर्छौ’, उनले भने। मोबाइलबाट हाजिरी गर्ने व्यवस्थाको दुरुपयोग नहोस् भनेर प्रभावकारी रूपमा अनुगमन गरिरहेको उनले बताए। ‘कसैले बेइमानी नगरोस् भनेर हामीले सुपरभाइजरसमेत पठाएका हुन्छौं’, उनले भने। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्