Logo

माओवादी महासचिवलाई धमलाको प्रश्न– समाजवादी मोर्चामा कांग्रेस अटाउन सक्छ ?



काठमाडौं, ४ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले पुष्पकमल दाहाल प्रचण्डको सरकार टिकाइराख्ने वा कांग्रेस र एमालेलाई साइजमा ल्याउने भन्दा पनि समाजवादी क्रान्तिको दिशामा जानका लागि समाजवादी मोर्चा बन्न लागेको बताएका छन् ।
राजनीतिक दलहरुबीच पार्टी एकता नहुने स्थितिमा मोर्चाबन्दी स्वाभाविक भएको पनि उनले बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग गुरुङले भने, ‘सरकारको विषयका लागि मात्र नभएर समाजवादी मोर्चा बनेको होइन, दीर्घकालीन आवश्यकता महसुस गरेर चारवटा दलले सुरुवात गरेका हुन् । यसमा अन्य घटकलाई पनि समेट्ने प्रयास हुन्छ ।’
नेपाली कांग्रेस पनि समाजवादी पार्टी नै हो, उसलाई किन मोर्चामा समेटिएन भन्ने प्रश्नमा उनले भने, ‘तत्कालको इस्युमा कांग्रेससित हाम्रो सहकार्य चलिरहेकै छ । समाजवाद त उहाँहरु पनि भन्नुहुन्छ । त्यो लोकतान्त्रिक समाजवादमा पुँजीवादभित्रै लोककल्याणकारी काम गर्न सकिन्छ भन्ने हो । तर हामीले वैज्ञानिक समाजवाद भन्दै आएका छौं । त्यसले छलफलको माग गर्छ । हामी अहिले प्रवेश गरेका छैनौं ।’ भविष्यमा हुन पनि सक्छ । साथै उनले आज घोषणा हुन लागेको समाजवादी मोर्चामा कांग्रेसको कुनै आपत्ति नरहेको पनि बताए ।
नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई पनि मोर्चामा समेटिने गुरुङले दाबी गरे । उनले भने, ‘बाबुरामजीले पनि मोर्चा बनाउने कुरामा सकारात्मक धारणा राख्नुभएको छ । समाजवादी मोर्चाको कार्यक्रमिक रुपमा उहाँको विमति छैन । अहिले चार दल समावेश भए पनि भविष्यमा बाबुरामजीलगायत सबै माआवादी र वाम घटकलाई क्रमशः समेट्ने हाम्रो प्रयास छ ।’



प्रतिक्रिया दिनुहोस्