Logo

समाजवादी मोर्चामा एमालेलाई पनि स्वागत गर्न सकिन्छ : तुलाधर



काठमाडौं, ४ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पूर्वमन्त्री गंगालाल तुलाधरले समाजवादी मोर्चासँग कोही आतंकित हुनुपर्ने स्थिति नरहेको बताएका छन् ।
‘समाजवादी मोर्चा राष्ट्रिय राजनीति, आर्थिक संकट अनि यावत् सामाजिक चुनौती सामना गर्न बनेको हो । देशलाई अग्रगामी निकास दिनका लागि हामीले यसको पहलकदमी लिएका हौं । तर हाम्रो मोर्चा बनाउने कुराले कोही पनि झस्किनुपर्ने, आतंकित हुनपर्ने वा खैलाबैला गर्नुपर्ने कारण छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता तुलाधरले नेपाली कांग्रेसँग मोर्चाको कुनै खटपट नरहेको दाबी पनि गरे । उनले भने, ‘कांग्रेसका नेताहरुलाई यस्तो मोर्चा बन्दै छ भन्ने थाहा छ । उहाँहरुलाई यसले खुसी नै बनाएको छ । हामी गठबन्धन दलहरु नै हौं । यसले गठबन्धनलाई नै बल पुर् याउँछ । भरिसक्ये पाँचैवर्ष सरकार टिकाउन मनसा, वाचा, कर्मणा लिन्छ । अस्थिरता निम्त्याउने तत्त्व सफल हुन्छ ।’
समाजवादी मोर्चामा एमालेलाई पनि स्वागत गर्न सकिने उनले बताए । तुलाधरले थपे, ‘अहिले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गरी चार वटा दलहरुबीच समाजवादी मोर्चा हुन्छ । यसमा एमाले मात्र होइन, सम्पूर्ण वामपन्थी र प्रगतिशील दलहरुलाई स्वागत गर्न सकिन्छ । छलफल गर्न सकिन्छ ।’
बाबुराम भट्टराई अहिले छुटे पनि भविष्यमा मोर्चामा आबद्ध हुने विश्वास उनले व्यक्त गरे । उनले भने, ‘१५ बुँदे प्रस्तावबाट निर्देशित भएर हामी संयुक्त संघर्ष, जनपहल र जनचासो लिन्छौं । किनभने आफूलाई परिवर्तन नगरीकन गफ दिएर मात्र हुँदैन । सिद्धिनुअघिको वेकअप कल आयो र हाम्रो घैंटोमा घाम लाग्यो । परिवर्तनको शंखनाद आजैबाट सुरु गरेका छौं ।’ यो सहकार्यले माया, सद्भाव र विश्वास विकास हुने र त्यसले पार्टी एकताका निम्ति वातावरण बनाउने दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्