Logo

सरकारलाई प्रभु साहको प्रश्न : नेपालमा रोजगारीको सम्भावना छ कि छैन् ? (भिडिओसहित)



काठमाडौं, ५ असार । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपालमा बेरोजगारको समस्या दिनदिनै विकराल बनेको बताउँदै नेपालमा रोजगारीको सम्भावना छ कि छैन् ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयगत छलफलमा भाग लिँदै साहले यस्तो बताएका हुन् ।

उनले भने,‘स्वदेशमै सम्भावना छ भने त्यस्तो योजना यो बजेटमा केही पनि छैन् । सम्भावना छैन भने जिम्मेवारीमा बस्न मिल्छ त ? नेपाल खाडी मुलुकभन्दा खराब छ र ? नेपाल सबै हिसाबले समृद्ध रहेको छ। बहादुर र श्रमजिवीको देश । प्राकृतिक सम्पदाले भरिपूर्ण छ । हाम्रो इतिहास गौरवपूर्ण छ । अनि हामी कसरी पछि पर्यौं ? म शासन सत्तामा बसेकाहरुलाई सोध्न चाहन्छु ।’

साहले देशमा मजदुरले मजदुरी नगरी ज्याला पाउने अवस्था नभएको विडम्बना सुनाए । अनि वैदेशिक रोजगारीको नाममा ठगी व्याप्त रहेको पनि उनको गुनासो छ । उनले भने,‘वैदेशिक रोजगारीको नाममा ठगी मौलाएको छ, मेनपावर, राजदुत कारबाहीमा परेको थाहा छैन् । घरघरमा नक्कली एजेन्ट घुमिरहेका छन् । यो रोक्न जरुरी छ । नेपाली मजदुर जो विदेशमा तड्पिरहेका छन्, उनीहरुलाई संरक्षण गरियोस ।’

सो क्रममा उनले राजश्वको पैसा व्यक्तिको खातामा पुर्याउँदा कति कमिशत आउँछ भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे । उनले लुटको राज अन्त्य गर्न पनि सरकारसमक्ष आग्रह गरेका छन् । साहले क्रमागत योजना हटाउन मिल्छ ? भन्दै प्रश्न गरेका छन् । वर्तमान सरकार यसअघिका सरकारहरुकै अविछिन्न उत्तराधिकारी भएकोले पूर्वाग्रही ढंगले क्रमागत योजना हटाउन नमिल्ने टिप्पणी गरे । उनले यसको लागि मानवीयता हेर्नुपर्ने औंल्याए । साहले स्मार्ट सिटी बन्नुपर्नेमा जोड दिए । तर, शहरको खोजीमा गाउँ उजाड भैरहेको कुरा बिर्सन नहुने उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्