काठमाडौं, ५ असार । नेकपा (एमाले) की नेतृ तथा सांसद जुलीकुमारी महतोले भारतले नेपालकी छोरी सितालाई भारतको छोरी भनेर आदिपुरुष फिल्ममा चित्रण गरेको भन्दै आपत्ति जनाएकी छिन् । भारतले कहिले सिता, कहिले गौतम बुद्ध अनि संसद् भवनमा नेपाली भूमिहरुलाई अखण्ड भारतको नक्साको नाममा समावेश गरेकोमा पनि आपत्ति जनाएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयगत विषयको छलफलमा भाग लिँदै सांसद महतोले यी सबै विषयमा भारत सरकारसँग नेपाल सरकारले स्पष्टीकरण लिनुपर्ने माग गरेकी छिन् । आफूले सम्मानित सदनमा धेरैपटक जन्मसिद्धका सन्तानलाई तुरुन्तै नागरिकता दिनुपर्छ भनेर माग गरेको स्मरण गराउँदै महतोले अहिलेसम्म सरकारले सुन्ने काम नगरेको गुनासो पोखिन् । बरु, उल्टै सत्ता पक्षले नागरिकताको विषयमा भोटको राजनीति गर्ने र भ्रमको खेती गरिरहेको उनको आरोप छ ।
सो क्रममा उनले अहिलेको बजेटको दिशा, नीति र विनियोजन नै गलत रहेको आरोप लगाईन् । उनले अहिलेको बजेटलाई कुनैपनि हालतमा समर्थन गर्न नसकिने जिकिर गरिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नै अर्थमन्त्रीलाई बजेट सच्याउन भनेर निर्देशन दिएको कुरा मिडियामा आएकोले अहिलेको बजेट ठीक ढंगले नआएको कुरा प्रमाणित भैसकेको दाबी गरिन् ।