Logo

‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल ख्याल गरिएन’



काठमाडौं, असार ६ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटमा छोरी गंगा दाहाललाईसँगै राखिएको विषयप्रति सांसदले आपत्ति जनाएका छन्।

समितिको बैठकमा एमाले सांसद सुनिता बरालले नेपाली पक्ष भन्दै प्रधानमन्त्री छोरी गंगा दाहालको नाम नलिई उनलाई लक्षित गर्दै भनिन्। नेपालबाट हातमा मोबाइल लिएर तर भारतीय पक्ष डायरी र कलम लिएर उपस्थित भएको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीसँगको भेटमा नेपाली पक्षले कुनै टिपोट गर्नुपर्दैन?’ प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलस्तरीय छलफल र अरू भेटमा पनि गंगा सहभागी भएकी थिइन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखडसँग प्रधानमन्त्री दाहालले गरेको शिष्टाचार भेटका तस्वीरहरूमा पनि गंगा दाहाल देखिएकी थिइन्।

गत जेठमा भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभलसँग गरेका थिए। वान टु वान भनिएको उक्त भेटका लागि डोभल विदेशसचिव विनयमोहन क्वात्रालाई लिएर प्रधानमन्त्री दाहाल बसेको होटलमा आए भने दाहालले आफ्नी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललाई सहभागी गराए। त्यो भेटको तस्वीर सार्वजनिक भएपछि परराष्ट्रको प्रतिनिधिको साटो छोरीलाई सहभागी गराएको भन्दै आलोचना भएको थियो।

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री र सुरक्षा सल्लाहकारको भेटमा प्रधानमन्त्रीसंँग छोरी गंगा दाहालको उपस्थिति शोभनीय नभएको भन्दै प्रश्न उठाए। एमाले सांसदहरू भीम आचार्य, दामोदर पौडेल वैरागी, सुनिता बरालले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकलको ख्याल नगरिएको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot