Logo

समाजवादी मोर्चाले साम्यवादसम्म पुग्ने कुरा सोचेको छैन : जसपा नेता



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्ती राजेन्द्र श्रेष्ठले सत्ता टिकाउन समाजवादी मोर्चा बनाएको भन्ने आरोप गलत भएको बताएका छन् ।
‘निर्वाचनका बेला पनिहामीले गठबन्धन गरेकै हौं । सरकार बनाउँदा पनि गठबन्धनै गरेका हौं । विगतमा आन्दोलन आयो गठबन्धन आयो, चुनाव आयो, गठबन्धन आयो, चुनाव गयो, गठबन्धन गयो भन्ने थियो । यो मोर्चा सत्ता स्वार्थका लागि होइन, भविष्यमा नेपाली विशेषताको समाजवाद निर्माणका लागि बनेको हो । यो सैद्धान्तिक र वैचारिक पक्ष, माग र मुद्दाका आधारमा बनेको दिगो खालको मोर्चा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
गठबन्धनभित्र किन गठबन्धन भन्ने प्रश्नमा नेता श्रेष्ठले नेपाली कांग्रेसको सहमतिमै मोर्चा बनेको बताए । उनले भने, ‘हामीले कांग्रेससहितको मोर्चा बनाऊँ भनेको पनि हो । तर उसले त्यसका लागि हामी अहिले तयार छैनौं, बरु तपाईंहरुले नै बनाउनोस्, धेरै पार्टीसँग भन्दा एउटा मोर्चासँग कुरा गर्न सजिलो हुन्छ भन्यो ।’ उनले भारतमा कांग्रेस आईको नेतृत्वमा संयुक्त प्रगतिशील गठबन्धन रहेको दृष्टान्त दिँदै नेपाली कांग्रेस अन्तर्राष्ट्रिय रुपमा पनि प्रगतिशील गठबन्धनमै रहेको दाबी गरे ।
संसदीय व्यवस्था नमान्ने नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई मोर्चामा किन समावेश गर्नुभयो भन्ने अर्को प्रश्नमा नेता श्रेष्ठले विप्लवको नेकपाले हामी राष्ट्रिय राजनीतिको मूलधारमा आइसकेका छौं, सहकार्य गर्न तयार छौं भनेकाले उसलाई समेटेको बताए । मोर्चाले साम्यवादसम्म पुग्ने परिकल्पना नगरेको पनि श्रेष्ठको भनाइ छ । उनले भने, ‘हामी त्यति टाढासम्मको कुरा सोचेका छैनौं । अहिलेको कुरा समाजवादसम्म मात्र सीमित छ ।’ अहिलेको गठबन्धनले नै पाँच वर्ष लगातार सरकार चलाउने बताउँदै उनले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने कुरा कथा मात्र भएको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot