Logo

समाजवादी मोर्चा सत्ताधारी गठबन्धनको उपगठबन्धन मात्रै : थापा



काठमाडौं, ६ असार । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले समाजवादी मोर्चा सत्ताधारी गठबन्धनको उपगठबन्धन मात्रै भएको आरोप लगाएका छन् ।
‘समाजवादी मोर्चा कहाँ गठन भएको ? राष्ट्रिय सभागृहमा ! अलि पहिले चारजना नेता जम्मा हुँदा सत्ताधारी गठबन्धन भन्नुभयो, अर्को ठाउँमा समाजवादी मोर्चा भन्नुभयो, भोलि अर्को ठाउँमा जुटेर साम्यवादी मोर्चा भन्नुहोला । फेरि प्रो कांग्रेस गठबन्धन भन्नुहोला । एकैथरी मान्छेले ठाउँठाउँमा नाम, रुप, पहिचान र हुलिया बदल्दैमा हामीलाई के फरक पर्छ र ? यो सत्ताधारी गठबन्धनको उपगठबन्धन मात्रै हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
समाजवादी मोर्चा गठन भएपछि तपाईंहरु किन आत्तिनुभएको त भन्ने प्रश्नमा थापाले भने, ‘यो काशी जाने कुतीको बाटो भन्याजस्तै हो । यो व्यर्थको कोसिस हो । समाजवादी, कांग्रेसवादी, भारतवादी जे नाम राखे पनि हामीलाई केही फरक पर्दैन । यो उनीहरुले अस्तित्व जोगाउनका लागि गरेका हुन् । धन्दावालहरुको बारेमा धेरै टिकाटिप्पणी आवश्यक छैन । एमाले कसैसँग तर्सिने पार्टी होइन ।’
खडगबहादुर विश्वकर्माले त मोर्चामा एमाले पनि आउँछ भन्नुभएको छ नि भन्ने धमलाको प्रश्नमा सांसद थापाले भने, ‘समाजवाद खड्गबहादुरजीको बुताको विषय होइन । प्रचण्डको कान्छीऔंला समातेर हिँड्नु थियो भने सातआठ वर्षसम्म एकीकृत क्रान्तिको नाममा किन नाटक गर्नुपथ्र्यो ? उहाँहरुलाई प्रचण्डको पछिपछि लागेर समाजवादी भएँ भन्ने भ्रम छ । कांग्रेसको पछि लागेर समाजवाद आउँछ ?’ एमालेलाई यस्ता मोर्चामा जाने फुर्सद नभएको पनि उनले टिप्पणी गरे ।
पद्धतिमाथि संकट आउनुअगावै कांग्रेस र एमालेजस्ता दुई ठूला पार्टी मिल्नु उपयुक्त हुने पनि थापाले बताए । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दा एमालेलाई नै बनाउन लागेको दाबी गरे ।
एमाले नेता थापाले पर्यटनमन्त्री सुदन किराती मानसिक उपचार गर्न अस्पताल भर्ना गर्नुपर्ने मान्छे भएको पनि बताए । उनले भने, ‘कोसी प्रदेशको नाम लेख्नुपर्छ भनेर नियतका साथ उहाँले प्रदेश १ लेख्नुभएको छ । उहाँले सच्चाएर नल्याए पर्यटन मन्त्रालयको शीर्षक छलफल हुन सक्दैन । तर संसदको निर्देशन मान्न उहाँ बाध्य हुनुहुन्छ । उहाँ निगरानीमा हुनुहुन्छ । राजीनामा दिएर आन्दोलनमा जान मिल्छ । तर मन्त्रीको कुर्सीमा बसेर संविधान विपरीत हर्कत गर्न मिल्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot