काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीलाई पुस्तक समयमै उपलब्ध गराउन सरकारसमक्ष माग गरेकी छन्। आज (बुधबार) बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद महतोले यस्तो माग गरेकी हुन् ।
उनले नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने तथा रोपाइ सुरू भइसक्दा पनि किसानले मल नपाउनुले सरकार कहाँ छ भन्ने प्रश्न खडा भएको बताइन्। उनले भनिन्–‘‘नयाँ शैक्षिक सत्र सूरु भयो । विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो । मल छैन । महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ । न्याय पाउने आश छैन । रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने । सरकार कहाँ छ ? म प्रश्न गर्न चाहन्छु ।’
सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढदा पनि सरकारले उनीहरुलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै योजना नबनाएको भन्दै आक्रोश व्यक्त गरिन्। सो क्रममा उनले पशु चौपायामा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको भन्दै समयमै यसको रोकथामको लागि सरकारले पहल गर्नुपर्ने माग गरिन् । उनले भनिन्–‘नेपालका अधिकांश जिल्लाहरुमा यो रोग देखापरेको छ, यसले पशुपालक कृषकहरु ठूलो समस्यामा छन् ।’