काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सांसदहरूले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बताएका छन् ।
राष्ट्रिय सभा गृहमा बुधबार नगर सभाको १३ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सङ्घ र प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति वा समन्वय अनिवार्य हुनुपर्ने उल्लेख गरे।
काठमाडौँ जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० र प्रदेश सभा निर्वाचन क्षेत्र २० वटा छन् । त्यसमध्ये नौ वटा प्रतिनिधि सभाका र १२ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र काठमाडौँ महानगरभित्र पर्छ । ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने मूल नारासहित ल्याएको नीति तथा कार्यक्रममा समेटिएका योजनालाई गौरवका योजना, स्वर्णिम योजना र प्राथमिकता प्राप्त योजनाका रूपमा उल्लेख गरिएको छ ।
त्यसैगरी महानगर प्रमुख साहले आगामी आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकाले कम्तीमा पाँच हजारलाई रोजगारी दिने घोषणा गरेका छन्। उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने, आगामी आर्थिक वर्षमा एक लाख वृक्षरोपण गर्ने, सबै सडक पक्की गर्नुका साथै खाल्टाखुल्टीरहित काठमाडौँ सहर निर्माण गर्ने घोषणा गरे।
त्यसैगरी सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणका लागि ‘एक विद्यालय एक नर्स’, छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण, मनोसामाजिक परामर्शका लागि ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’ परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखापत्र दैनिकबाट