Logo

कांग्रेसको पालो आउँदै छ, हतारो छैन : मीन विश्वकर्मा



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफ्नो पार्टी अर्को सत्तागठबन्धन बनाउने चलखेलमा नलागेको बताएका छन् ।
‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको हो, नयाँ गठबन्धन बनाउन जानुभएको होइन । यो सरकार नेपाली कांग्रेस आफैंले पहल गरेर बनाएको हो । त्यसैले कांग्रेसका कारण सरकार बदलिने र गठबन्धन टुट्ने कुरा छैन । यथास्थितिमा एमालेको चलखेलले सार्थकता पाउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न हतारो नभएको पनि विश्वकर्माले बताए । उनले थपे, ‘हाम्रो पालो आउँदै छ त । किन हतारो गर्ने ? हाम्रा पार्टी सभापति संवादमै हुनुहुन्छ । तर अर्को दलसँग गठबन्धन बन्छ कि बन्दैन भन्ने कुरामा गठबन्धनका अरु दलहरु जिम्मेवार हुन्छन् ।’
नेता विश्वकर्माले आफू समाजवादी मोर्चा पार्टी नै बनोस् भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘कम्युनिस्ट पार्टीहरु फुट्ने र जुट्ने हाम्रो अनुमान धेरैपटक फेल खाएको छ । प्रचण्डजस्तो गतिशील र अस्थिर माइन्डसेट भएको नेताले पार्टी एकताको सम्भावना नभएपछि मोर्चा बनाउनुभएको छ । त्यसमा हामीले लौ बरबाद भैहाल्यो भनिरहनु पर्दैन । हामीलाई पनि ठूला दलसँग प्रतिस्पर्धा गर्न मजा आउँछ । समाजवादी मोर्चा पार्टी नै बनोस् भन्ने मेरो व्यक्तिगत चाहना छ ।’
मोर्चा बनिसकेपछि बजेट असफल हुने र सरकार ढल्ने सम्भावना प्रचण्डले टारेको उनको दाबी छ । विश्वकर्माले अहिलेको डिजिटल युगमा विरोधका नाममा मोसो दल्ने, हातपात गर्ने, कुटपिट गर्ने काम भत्र्सनायोग्य रहेको पनि बताए । प्राध्यापक कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिने काममा पार्टीको संलग्नता नभएको उनको भनाइ छ । विश्वकर्माले भने, ‘त्यसमा मुद्दा चलेको छ भने कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्छ । सरकारले सबै कुरा बुझेर नै उपयुक्त समाधान खोजेको होला । कांग्रेसलाई मुछ्नु आवश्यक छैन ।’
अर्को प्रसंगमा नेता विश्वकर्माले बीआरआई सम्झौता नै नभएको पोखरा विमानस्थलबारे भ्रम फैलाइएको आरोप पनि लगाए । उनले भने, ‘बीआरआई सम्झौता गर्दा के के गर्ने, के के नगर्ने स्पष्ट भइसकेको कुरा हो । पोखरा विमानस्थल बीआरआई अन्तर्गत पर्दैन । छिमेकी देशले सम्झौता नै नभएको विषयमा भ्रम छर्ने अभिव्यक्ति दिनु उचित होइन । नेपालमा बीआरआई कार्यान्वयन नै भएको छैन । यसलाई हलुका रुपमा लिनुहुँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot