Logo

ऋण लिँदैमा पोखरा विमानस्थल बीआरआईको भन्न सकिँदैन : माओवादी नेता



काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेको सत्ता गठबन्धन लामो समयसम्म टिक्ने ठोकुवा गरेका छन् ।
‘यो गठबन्धन चुनाव अगावै बनेको हो । यसको राजनीतिक अर्थ छ । यो धेरै परसम्म पुग्छ । जहाँसम्म कांग्रेस र एमाले गठबन्धन बन्ने कुरा छ, उनीहरुबीच राजनीतिक मुद्दा नै मिल्दैन । त्यसैले कांग्रेसले केवल प्रधानमन्त्री खानका लागि गठबन्धन भत्काउँदैन । अहिले अर्को सरकार बन्ने कल्पना नगरे हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता शाहीले एमाले अहिलेको अवस्थामा समाजवादी मोर्चामा आउन नसक्ने बताए । उनले थपे, ‘एमालेको नेतृत्व वर्तमान संविधान खारेज गर्ने र पुरानो व्यवस्थामा फर्काउन चाहन्छ । उसले विगतको आत्मसमीक्षा गरेर राष्ट्र निर्माणको अभियानमा लागौं भनेर आए त सम्भव होला । तर अहिलेको अवस्थामा समाजवादी मोर्चामा आउन सक्दैन ।’ उनले राजनीतिक ध्रुवीकरण हुँदा परिवर्तनकारी शक्तिहरु एक ठाउँमा र प्रतिगमनकारी शक्तिहरु अर्को ठाउँमा पुग्ने देखिएको पनि औंल्याए ।
सांसद शाहीले पोखरा विमानस्थल चीनको ऋणमा बने पनि बीआरआईअन्तर्गत नभएको बताए । उनले भने, ‘बीआरआई चीनको रणनीतिक प्रोेजेक्ट हो । उसले सडक सञ्जाल, हवाई सञ्जाल बनाइरहेको छ । तर पोखरा विमानस्थल निर्माणमा हामीले बीआरआईसँग सम्झौता गरेका होइनौं । ऋण लिएर बनाएका हौं । ऋण लिँदैमा बीआरआईको भन्न सकिँदैन ।’ पोखरा विमानस्थल आवश्यक थियो कि थिएन, भन्ने चाहिँ बहसकै विषय भएको पनि शाहीको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्