Logo

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे रास्वपामा दुबिधा छैन : प्रमुख सचेतक



काठमाडौं, ७ असार । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताएका छन् ।
‘रास्वपा अत्यन्त छोटो समयमै राष्ट्रिय राजनीतिमा जबर्जस्ती शक्तिका रुपमा स्थापित भएको छ । केही समय सरकारमा सहभागी भयो । जनताको परिवर्तनप्रतिको विश्वासलाई अघि बढाउँदै हामी संसदमा बलियो र प्रभावकारी भूमिकामै छौं । हामी राजनीतिलाई अस्थिर बनाएर सरकारमा जाने वा नयाँ गठबन्धन बनाउनेतिर भन्दा हामी जनताको विकास र समृद्धिको भावनालाई मुखरित गर्न चाहन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग परियारले भने ।
केही दिनमै पार्टीको आधिकारिक दस्तावेज बाहिर ल्याउने पनि उनले बताए । परियारले थपे, ‘रास्वपाको सिद्धान्त, विचार र दर्शन के हो ? नेपाली समाजलाई कसरी बुझेको छ भन्ने विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । पार्टी गठन हुनासाथ निर्वाचनमा होमिनुपरेकाले हामीले राजनीतिक विचार र दर्शनको विकास गर्न भ्याएनौं । अहिले पार्टीले प्रारम्भिक दस्तावेज लेखनका लागि १७ जनाको समिति बनाएको छ । समयाभावका कारण आजै ल्याउन नसके पनि केही दिनभित्रै त्यो दस्तावेज सार्वजनिक गर्नेर्छौं ।’
संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा रास्वपाको विमति नरहेको पनि परियारले बताए । उनले भने, ‘२०७२ सालको संविधान र प्राप्त राजनीतिक र सामाजिक उपलब्धिप्रति हामी प्रतिबद्ध छौं । गणतन्त्र नै हाम्रो मूल नीति हो । यसमा कुनै सन्देह छैन । संघीयता जनतालाई अझ शक्तिशाली र अधिकारसम्पन्न बनाउने कुरा राजनीतिक विधि हो । यसमा पनि हाम्रो अलमल थिएन । प्रदेश संरचनालाई जनताको पक्षमा अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउन चाहन्छौं । हामी संघीयताको विरोधी होइनौं । धर्मनिरपेक्षता कसैको लहडबाजी र रिसरागमा आएको होइन । कुनै पनि राष्ट्रले सबै धर्म, समुदाय र संस्कृतिप्रति सम्मान गर्नुपर्छ । रास्वपा धर्मनिरपेक्षतावादी हो । यसमा पनि दुबिधा छैन ।’
संसद्को चौथो शक्ति रास्वपाले पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा आज देशका शीर्ष नेताहरुको उपस्थितिमा नयाँ केन्द्रीय कार्यालय बालाजु, वनस्थलीमा चियापान कार्यक्रम गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्