Logo

‘आफ्नै देशका जनतालाई विदेशी ठान्ने सोच भएका पनि नेता हुन्छन् ?’



काठमाडौं, ८ असार । नागरिकताविहीन संघर्ष समिति नेपालका राष्ट्रिय अध्यक्ष इन्द्रजित साफीले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयनसम्बन्धी सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको टिप्पणी गरेका छन् ।
‘तत्कालीन राष्ट्रपतिको कारण नेपालको संविधान र कानुन संकटमा परेको थियो । अहिलेका राष्ट्रपति र सर्वोच्च अदालतले देश, संविधान र संघीय व्यवस्थाको संरक्षण गरेको छ । हिजाको फैसलालाई हामी सल्युट गर्न चाहन्छौं । यो ऐतिहासिक फैसला हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
आफूहरुको आन्दोलनको दबाबका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी पनि उनले गरे । साफीले भने, ‘जन्मसिद्ध नेपालीका छोराछोरीले नागरिकता पाउने अवस्था सिर्जना गर्न हामीले निरन्तर दबाब दिनुपर् यो । सर्वोच्च अदालतअगाडि न्याय माग्नुपर् यो । त्यस क्रममा हामी ३७ जना पक्राउ परेका थियौं । सर्वोच्च अदालतले हाम्रो वास्तविक पीडा बुझेर निर्णय गरेको छ ।’
कथित राष्ट्रवादी, राजावादी भनिने ठूलठूला नेताले विदेशीले नागरिकता सहजै पाउँछन् भनेर देशभरि हल्ला फैलाएको आरोप पनि साफीले लगाए । उनले भने, ‘नागरिकता ऐनमा जुन चिज छँदै छैन, त्यसलाई बढाइँचढाइ गरेर रोक्ने काम भयो । कथित राष्ट्रवादी, राजावादी र ठूलठूला नेताले गलत प्रचारबाजी गरे । आफ्नै देशका जनतालाई विदेशी ठान्ने सोच भएका पनि नेता हुन्छन् ? मधेसमा बस्नेलाई बिहारी देख्छन् र सिक्किममा बस्नेलाई नेपाली सम्झिन्छन् । के त्यसो भए अब ज्ञानेन्द्र शाहीलाई राजा घोषणा गर्ने त ?’



प्रतिक्रिया दिनुहोस्