Logo

गुरुकुल टिकाउन आधुनिक शिक्षा



गल्याङ, ८ असार । पछिल्लो समय गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गइरहेका छन् । कतिपय गुरुकुल बन्द भएका छन् भने कतिपय गुरुकुललाई टिकाउन समस्या हुँदैआएको छ । तर स्याङ्जाको रामनदीधाम संस्कृत गुरुकुलमा भने मागभन्दा धेरै भर्ना हुन आएका कारण विद्यार्थी फर्काउनुपर्ने अवस्था छ ।

गल्याङ नगरपालिका–१, राम्दीमा रहेको यस गुरुकुलमा मूल विषय संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अङ्ग्रेजी, गणित, कम्प्युटरको पठनपाठन हुने गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले जानकारी दिए । उनले माध्यमिक तह ९६–१०० कक्षासम्म आवासीयरुपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको बताए । स्व योगी नरहरिनाथले २०४२ सालमा पूरा एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब छ महिना परम्परागत रुपमा गुरुकुल सञ्चालन गरेको थियो ।

जनचासो कम भएकाले र व्यवस्थापकीय कमजोरीका कारण गुरुकुल बन्द गुरुकुल नरहरिनाथको सपना साकार पार्न पुनः स्थापना गरिएको हो । गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन भएको बताए। उनले मानिसमा आध्यात्म ज्ञान र नैतिक आचरण हराउँदै गएकाले आध्यात्म ज्ञान, नैतिक आचरण, सद्भाव, दया, माया, प्रेम, स्नेह र सद्गुण जगाउने उद्देश्यसहित गुरुकुल स्थापना गरेको बताए । नवलपरासीको बद्धघाट नगरपालिका–१३ बुद्ध बस्तीकी यामकला बस्यालले आफ्नो छोरा अङ्ग्रेजी र संस्कृत बोलेको देख्दा अचम्म लागेको बताए ।

बस्यालले भने, “सुरु सुरुमा भविष्य बिग्रेलाकी भन्ने डर थियो । छोटो समयमा गरेको प्रगति देख्दा राम्दीमा गुरुकुल पढाएका अभिभावक डराउनुपर्दोरहेनछ ।”

गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत छन् । चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएका छन् । रामनदीधाम राम्दी स्याङ्जा र पाल्पाको सिमाना हुँदै बगेको कृष्णगण्डकी नदी, पाल्पाबाट बग्दै आएका गुरु वशिष्ट र अङ्गीरा नदीको सङ्गमस्थल पनि हो ।

कालीगण्डकी उत्तरबाहिनी नदीसमेत भनेर चिनिने यस त्रिवेणीधाममा सञ्चालित गुरुकुल तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय छन् । गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताले सहयोग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot