Logo

किसानलाई कफीका बिरुवा वितरण



बनेपा, ८ असार । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानलाई आम्दानी वृद्धि गराउन निःशुल्क रुपमा कफीका बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण गरेको हो ।

वडा नं १ का वडाअध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताए । मकै र कोदो खेती गरेको ठाउँमा कफी खेतीको उत्पादनले झन्डै दोब्बर आम्दानी लिएको पाएकाले पनि परम्परागत खेतीबाट फरक तरिकाले कफीका साथै फलफूल खेतीतर्फ किसानलाई डो¥याउने काममा वडाले काम गरिरहेको उनले बताए । किसानले पनि आम्दानीका लागि खेतीमा विकल्प सोचिरहेका बेला कफी उत्पादन प्रमुख हुने देखिएको उनको भनाइ छ ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । अहिले पालिकाका सबै वटामा सहकारी संस्थामार्फत आर्थिक वर्ष २०७९/८० मा मात्रै एक लाख कफीका बिरुवा वितरण गरेको उनले बताए ।

“महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना रहेको पाइएका कारण उत्पादनमा किसानलाई जोड्न यस वर्ष बिरुवा वितरणमा जोड दिएका छौँ”, उनले भने, “यसअघि पालिकाले कफी उत्पादनको विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि मेशिन वितरण लगायतका काम गरिसकेका छौँ ।”

यहाँका केही किसानले आफ्नै लगानीमा सामान्य किसिमले कफी खेती गर्दै आएको र आम्दानी पनि राम्रो हुने पाएपछि किसान पनि त्यसतर्फ आकर्षित भएका छन् । आम्दानी पनि राम्रो हुने, पालिकाले पनि निःशुल्क रुपमा बिरुवा वितरण गरेपछि यहाँका किसान खुसी भएका छन् ।

कफी उत्पादनलाई प्रोत्सान दिन यस वर्षबाट वडा नं ३, ५ र ८ वडामा नर्सरी समेत स्थापना गरेको पालिकाले जनाएको छ । त्यस्तै कृषि क्षेत्रमा किसानलाई अग्रसर गराउन ट्र्याक्टर, स्प्रे पम्प, प्लास्टिक टनेल र आवश्यकताका आधारमा किसानको मागमा आधारित तालिमसमेत उपलब्ध गराइँदै आएको पालिकाले जनाएको छ । इलाममा चिया हेर्न नेपालीसँगै विदेशी पर्यटक गए जसरी महाभारतमा कफी हेर्ने पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot