काठमाडौं, ८ असार । जनता समाजवादी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले चीनको सिमाना हिल्सामा पुग्दा चिनियाँतर्फ सुरक्षाकर्मी देखिएपनि नेपालतर्फ नदेखिएको भन्दै प्रश्न उठाएका छन् ।
प्र्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन भ्रमण जाने क्रममा हुम्लाको हिल्सा पुगेको तर सीमानामा नेपाली सुरक्षाकर्मी केही समय मात्र बस्ने जानकारी पाएको बताएका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘हामी हिल्सा पुग्दा चीनतर्फ सेना, प्रहरी छन् तर नेपालतर्फ सुरक्षाकर्मी भेटिएन। त्यहाँ बुझ्दा कहिलेकाहीँ मात्र आउने थाहा पायौं।एकछिनपछि मात्र प्रहरीहरू दौडिएर आएका थिए, सिमानामा २४ सै घण्टा सुरक्षाकर्मी बस्नुपर्छ। तर हामीले किन राख्न सकेनौं। हिमाली क्षेत्रमा न्यानो कपडा समेत दिन नसकेर हो कि भनेर ध्यान दिनुपर्छ।’
सांसद यादवले कारागारलाई यातना गृह बनाउने कि सुधार गृह भनेर पनि प्रश्न गरे । उनले कारागारको सुधारमा सरकारको ध्यान नगएको गुनासो पोखे । उनले थपे,‘अहिले कारागारको अवस्था यातना गृह जस्तै छ। वीरञ्जकै कुरा गर्दा कारागारको अवस्था जीर्ण छ। क्षमताभन्दा अत्यधिक धेरै कैदी बन्दी राखिएको छ, कैदीबन्दीहरू बिहान ४ बजेदेखि शौचालयमा लाइन बस्छन्। कतिपय अवस्थामा दिसा पिसाब नै कपडामा हुन्छ। वर्षाको समयमा पानी चुहिन्छ।’
सांसद यादवले निजी क्षेत्रलाई हेलिप्याड दिने निर्णय खारेज गर्नुपर्ने माग गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरू अझै खुलेआम हिँडिरहेको आरोप लगाए ।
https://www.facebook.com/ReportersNepal/videos/214256084848509