Logo

तत्काल कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति देखिँदैन : कांग्रेस नेता



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पार्टी सभापति शेरबहादुर देउवा नयाँ सरकार बनाउन सिंगापुर नगएको दाबी गरेका छन् ।
‘बाहिर हल्ला चलेजस्तो सभापतिजी सत्ता समीकरण बदल्न सिंगापुर जानुभएको होइन । स्वास्थ्य उपचारको फलोअपमा जानुभएको थियो, आउनुभो । सभापतिले त्यहाँ कसैसँग कुरै नगर्ने भन्ने त छैन नि । तर वर्तमान गठबन्धन टुट्ने अवस्थामा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता ढुंगानाले पुष्पकमल दाहाल प्रचण्डको सरकार ढाल्न एमालेसँग छलफल नभएको पनि बताए । उनले भने, ‘म कांग्रेस र एमालेबीच सहकार्य हुँदै हुँदैन भन्दिनँ । तर कांग्रेस र सभापतिजी राजनीतिक स्थिरताको पक्षमा उभिनुभएको छ । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच बजेट, अर्थतन्त्र र राष्ट्रिय हितका लागि वार्ता हुनु स्वाभाविक हो । तर प्रचण्डजीको सरकार ढाल्न कुनै छलफल भएको छैन ।’
तत्काल कांग्रेस र एमाले मिलेर सरकार बनाउने परिस्थिति नदेखिएको पनि ढुंगानाले बताए । उनले भने, ‘शेरबहादुर देउवा प्रधानमन्त्री नबन्ने भन्ने छैन । हिजो थोरै जित्दा त प्रधानमन्त्री हुनुभो भने अहिले त झन् सबैभन्दा ठूलो पार्टी भएको छ । कांग्रेसले देशको नेतृत्व गर्ने क्षमता राख्छ ।’
पार्टीभित्र दुइटा धार २००७ सालदेखि नै भएकाले यो अस्वाभाविक नभएको उनले बताए । उनले भने, ‘हो, पार्टीमा गर्नुपर्ने काम ढिला भएको छ । सभापतिजीले सिंगापुरबाट फर्केपछि गर्छु भन्नुभएको थियो । अब हामी कोषाध्यक्ष चयन गर्छौं, विभाग बनाउँछौं । अरु काम पनि छिटै हुन्छ ।’ एमालेले नागरिकतामा सधैं राजनीति गरिरहेको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot