Logo

कांग्रेसको नेतृत्वमा एमाले सरकारमा जाँदैन : ज्ञवाली



काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बजेटमा गठबन्धन दलहरुकै असमझदारीका कारण सरकार ढल्ने अवस्था आएको बताएका छन् ।
‘बजेटमा हाम्रो पार्टी त असहमत छँदै छ, सरकारमै सामेल दलका सांसदहरु पनि असहमत छन् । बजेटकै कारण सरकार ढल्ने अवस्था छ । सरकार आपसी अन्तरविरोधका कारण टिक्ने अवस्थामा छैन । सरकार ढल्यो भने एमालेले कारण होइन, आफ्नै कमीकमजोरीका कारण ढल्ने हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
ज्ञवालीले एमाले सरकार ढाल्ने भन्दा पनि पार्टी सुदृढ बनाउन लागिरहेको दाबी गरे । उनले भने, ‘एमाले मिसन २०८४ अन्तर्गत गाउँगाउँ टोलटोलमा पसेको छ । सबैभन्दा धेरै मत ल्याएको र प्रमुख प्रतिपक्षी दल भएकाले एमाले सरकार नेतृत्व गर्न जहिल्यै तयार छ ।’
उनले अबको ‘वेटिङ प्रधानमन्त्री’ केपी शर्मा ओली नै भएको बताए । ज्ञवालीले थपे, ‘एउटा कुरा प्रस्ट के हो भने एमाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा जाँदैन । बरु कांग्रेसले एमालेलाई सहयोग गरे हुन्छ । एमालेको नेतृत्वमा सरकार बन्छ भने जहिले तयार छ । हामी कांग्रेसको मात्र नभएर अरु कसैको नेतृत्वको सरकारमा जाँदैन । अरु हल्लाको पछाडि दौडिनु पर्दैन ।’
समाजवादी मोर्चा एमालेलाई कमजोर पार्ने र केही समय टिकाउने सत्ता उद्देश्यले बने पनि त्यो पूरा नहुने उनको ठोकुवा छ । ज्ञवालीले वामदेव गौतम र भीम रावललाई पार्टीमा आएर काम गर्न आह्वान पनि गरे ।



प्रतिक्रिया दिनुहोस्