Logo

‘प्रीपेड र पोस्पेड’ भ्रष्टाचार प्रचण्ड सरकारको उपहार : पूर्वमन्त्री बस्नेत



काठमाडौं, असार ९। नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रीपेड र पोस्पेड भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको उपहार भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको दोस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनको सरकारले प्रदेश तथा संघीय सरकारमा ‘काले काले मिलेर खाउँ भाले’को नीति लिएर चरम भ्रष्टाचार, अनियमितता र कुशासन बढेको दावी गरे।

प्रदेश सरकारले सत्ता पक्ष तथा प्रतिपक्षी दलका सांसदहरुलाई दिईने बजेट तथा योजनामा समेत विभेद गरेको उल्लेख गर्दै संघका इन्चार्जसमेत रहेका नेता बस्नेतले सत्ताधारी दलका नेताहरु ठेगदार बोकेर प्रदेशका सदरमुकामका होटलहरु कब्जा गरिरहेको आरोप लगाए ।

अहिले हेटौंडा गएर हेर्ने हो भने कांग्रेस र माओवादीका कार्यकर्ताहरुले ठेगदारहरुलाई सेटिङ गरेर लाईनमा राखेका बसिरहेको उल्लेख गर्दै उनले प्रदेश सरकारका बजेटहरु जन्मदै भ्रष्टाचार भएर जन्मिन थालेको भन्दै आक्रोस जनाए ।

उनले भने, ‘सत्तापक्षका सांसद तथा प्रतिपक्षी दलका सांसदलाई बजेटमा समेत विभेद गरिएको छ । मुख्यमन्त्री तथा अर्थमन्त्रीका जिल्ला तथा क्षेत्रमा मात्र बजेट गएको छ । अन्य क्षेत्रलाई तिरष्कार गरिएको छ । प्रदेश तहको सरकारमा त झनै यतिधेरै विकृति र विसंगति छ, सत्ताधारी दलका नेताहरु ठेगदार बोकेर प्रदेशका सदरमुकामका होटलहरु कब्जा गरिरहेका छन् । तपाई अहिले हेटौंडा जानुभयो भने कांग्रेस र माओवादीका कार्यकर्ताहरुले ठेकदारहरुलाई सेटिङ गरेर लाईनमा राखेका छन् । प्रीपेड र पोस्पेड भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको उपहार हो । मोवाईलमा प्रीपेड र पोस्पेड भने जस्तो । अब भ्रष्टाचार पनि प्रीपेड र पोस्पेड जस्तै हुन थालेको छ । हाम्रो क्षेत्रमा यति करोड पारिदिनुस्, प्रीपेड रकम यति दिन्छौं, पोस्पेड पछि फेरी दिन्छौं भन्ने कुराको सुभारम्भ भएको छ ।’

प्रदेश सरकारका बजेटहरु जन्मदै भ्रष्टाचार भएर जन्मिन थालेको बताउँदै उनले प्रदेश सरकारका कामहरु उत्कृष्ट नभएकाले जनतामा निरासा फैलिएको र अब संघीयता चाहिने हो कि हैन भन्ने गंभिर छलफलको विषय बनेको बताए । १०÷१५ वर्षको अन्तरमा व्यवस्थाबारे छलफल हुनुपर्ने बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्रको नाममा जनतालाई भ्रममा पार्न खोजिएको समेत बताए ।

स्थानीय तहको सरकार स्थायी भएकाले जनताको घृणा कम रहेको उल्लेख गर्दै उहाँले स्थानीय तर तथा संघीय सरकारले प्रत्यक्ष जनतासँग समपुरक रुपमा काम गरिरहेको उल्लेख गरे। तर प्रदेश सरकारमा भने जनताप्रति वितृष्ण पैदा हुँदै गएको उनको दावी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनीतिक अस्थिरता झनै बढेर गएको उल्लेख गर्दै संघीय तथा प्रदेश सरकारले राष्ट्रिय राजनीतिकै कारण जनताको काम गर्न नसकेको नेता बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्