Logo

‘सांसदहरूले श्रीमतीलाई सारी र बालाई टोपी किन्न बजेट मागेका होइनन् नि’



काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुने बताएका छन् ।
‘सरकारले काम गर्न नसकेपछि, राम्रो परिणाम नदिएपछि, संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुन्छ । तर कोही सत्तामा जाने बित्तिकै परिवर्तन गरिहाल्ने, सरकार टिक्नै नदिने खेलमा लाग्यौं भने जनताले के भन्छन् ? सधैंभरि एकैप्रकारको नजरले संसदीय राजनीति गरे विकास र समृद्धिको काम कहिले गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेकपा एमालेले चाहँदैमा अहिले नै सरकार बदलिने लक्षण आफूले देखिनहालेको पनि खतिवडाले बताए । उनले थपे, ‘अर्को गठबन्धन बन्नै नसक्ने भन्ने पनि होइन । हामी कोही पार्टीसँग छुवाछुत गर्दैनौं । कसैसँग हाम्रो टकराव र तिक्तता छैन । हामी पानी बाराबारको राजनीतिमा विश्वास गर्दैनौं । सत्तापक्ष र प्रतिपक्षको दूरी एक-डेढ मिटरको पनि नहोला । भेटघाट हुँदैमा सत्ता परिवर्तनमा जानुपर्छ भन्ने छैन । लौ सत्ता नै परिवर्तन हुनेभो र शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभो भन्ने पनि छैन ।’
बजेटमा प्रतिपक्षका मात्र नभएर सत्तारुढ दलका सांसद पनि सन्तुष्ट नभएको नेता खतिवडाले बताए । उनले भने, ‘बजेटमा आएका असन्तुष्टिलाई लिएर कोही धमिलो पानीमा माछा मारिहालौं भनेर लागेका हुन सक्छन् । कुनै जिल्लामा शून्य बराबर बजेट कहीं बाह्र गृुना बढी बजेट जाने ? यस्तो पनि हुन्छ र ? सांसदहरुले आफ्ना बालाई टोपी, श्रीमतीलाई सारी किन्न बजेट मागेका त होइनन् नि । काठमाडौंमा हामी देख्छौं, एक वर्ष पिच सडक बनाउने, अर्को वर्ष भत्काएर ढलान हान्ने, अर्को वर्ष ढुंगा बिच्छाउने गरिन्छ ।’ जिल्लाहरुलाई सधैं अन्याय गर्ने ? सत्तापक्ष र प्रतिपक्ष बसेर बजेट संशोधन गर्न सकिने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot