Logo

भरतपुर महानगरले ‘हाम्रो सहर,हरियाली तथा स्वच्छ सहर’अभियान सञ्चालन गर्ने



काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ ।

महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताइन् ।

त्यस्तै नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रुपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ ।

‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ ।

त्यस्तै‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीतिअनुरुप विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । केरूङ्गा घोल, पुङ्गी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने जनाइएको छ । यससँगै अतिक्रमित संरचना हटाइने उल्लेख छ ।

नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बीच मोडेल’सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजनाबमोजिम सङ्घ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइने उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot