Logo

प्रचण्ड सरकारले गरिखान सक्दैन : एमाले नेता



काठमाडौं, ११ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आफ्नै कारण ढल्ने स्थितिमा रहेको दाबी गरेका छन् ।
‘संसदमा प्रतिपक्षी दलका तर्फबाट सरकारका कामकारबाहीमा आलोचना हुनु स्वाभाविकै हो । अहिले एमालेले बजेट सुधार गर भनिरहेको छ । यो सांसदहरुको ड्युटी नै हो । यति बोल्दैमा ६ महिना नपुग्दै एमाले सरकार हटाउने खेलमा लाग्यो भन्ने ढंगले कुप्रचार गरिएको छ । सरकार हामीले ढाल्नै पर्दैन, आफैं ढल्दै छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नवगठित समाजवादी मोर्चाका नेताहरु कांग्रेस र एमाले नेताहरुको भेटघाटले सरकार ढल्ने चिन्ताले डराइरहेको आरोप पनि तामाङले लगाए । उनले भने, ‘ठूला दलका नेताहरुबीच छलफलै हुँदैन, भेटघाटै हुँदैन भन्ने त छैन नि । त्यसमा तर्सिनु पर्ने कुरा के छ ? सामान्य भेटघाट गर्दा पनि छटपहाट बोकेर कसरी मुलुक हाँक्न सक्छ ? उल्टै उहाँहरुले नेपाली कांग्रेसका सभापतिमाथि शंका गरेको सुनिरहेका छौं । यो सरकारले गरिखान सक्दैन भन्ने देखियो ।’
एमाले हतपतमा अंकगणित पुर् याएर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको उनले बताए । तामाङले भने, ‘संसदको कम्पोजिसनका कारण सरकार सधैं अस्थिर हुने अवस्था छ । उहाँहरुले सरकार टिकाउन मोर्चा बनाउनुभएको छ । अब मोर्चाको सरकार हो कि दलको हो ? बैठकमा मोर्चाको एउटा प्रतिनिधि जाने कि सबै जाने हो ? यसरी सरकार चल्दैन । अब नयाँ ढंगले सोच्नुपर्छ ।’ मुलुकको अर्थतन्त्र सुधार, रोजगारी वृद्धि लगायत समस्या समाधानका लागि दलहरुबीच झगडाभन्दा पनि छलफल जरुरी रहेको उनले औंल्याए ।
तामाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पशुपतिको जलहरी प्रकरण, ओम्नी लगायतमा छानबिन गर्नुको साटो सरकार हल्ला चलाएको आरोप पनि लगाए । उनले भने, ‘रकारले किन हल्ला गरिरहनुपर् यो ? हामीले त छानबिन गर भनिरहेकै छौं नि । सबै भ्रष्टाचारका फाइल खोल्छौं भनेर नीति र कार्यक्रममा किन नल्याएको ? अब बोल्ने भन्दा पनि काम थाल्नुस् न ।’



प्रतिक्रिया दिनुहोस्