Logo

बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत



काठमाडौं, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजनाका साथ सरकार लागिपरेको बताएका छन्। उनले उत्पादन वृद्धि, वितरण प्रणालीको सुधार तथा आन्तरिक खपत बढाएर बाँकी रहेको बिजुली मात्रै भारत निर्यात गर्ने सोचका साथ मन्त्रालयले काम गरिरहेको उल्लेख गरे।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नका जवाफमा मन्त्री बस्नेतले पाँचवटा प्रदेशमा निकट भविष्यमा नै पूर्ण विद्युतीकरण हुने जानकारी दिए। हालसम्म कूल ९६ प्रतिशत घरधुरीमा बिजुलीको सेवा पुगेको जानकारी दिँदै ऊर्जामन्त्री बस्नेतले हाल कूल जडित क्षमता दुई हजार सात सय ३२ मेगावाट पुगेको बताए।

बिजुलीको मागमा घटबढ हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न फरक फरक योजनाका साथ लाग्नुपर्ने र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ। आगामी आवमा प्रणालीमा कूल नौ सय मेगावाट बराबरको बिजुली थप हुने जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सुक्खायाममा समेत आन्तरिक रुपमा बिजुलीमा आत्मनिर्भर हुने बताए।

बढी भएको बिजुली बिक्री गर्नुभन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै उनले भने, “खपत बढाउनका लागि आवश्यक योजानका साथ काम भइरहेको छ। तर, बर्खायाममा बिजुली बिक्री गर्नैपर्ने बाध्यता छ। तर, सुक्खायाममा बिजुली आयात गर्नैपर्ने आवश्यकता छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot