Logo

हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रका लागि वारपारको सडक आन्दोलन गर्छौं : धवलशमशेर



काठमाडौं, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् ।
‘यो हल्लैहल्लाको देश हो । निकट भविष्यमा सत्ता परिवर्तन हुन्छ भन्ने सुनेको छु । तर सत्ता परिवर्तन हुने वा नहुने हाम्रो हातमा छैन । के गर्ने हो, कांग्रेसकै हातमा छ । हामी सत्ता परिवर्तनको खेलमा छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग राणाले भने ।
आफूहरु सशक्त प्रतिपक्षको भूमिकामै रहने पनि उनले बताए । राणाले भने, ‘हामी संसद्मा भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका छौं । बेल नै घेरेर प्रतिनिधिसभाको बैठक अवरुद्ध गर् यौं । प्रतिपक्षको सशक्त भूमिका भनेको कुट्ने पिट्ने त होइन नि । त्यो काम भनेको बोल्ने नै हो । भ्रष्टाचारविरुद्ध हाम्रो भूमिका र आवाज प्रभावकारी नै छ ।’
अहिले सरकार परिवर्तनभन्दा पनि व्यवस्था परिवर्तन नै आवश्यक रहेको उनले बताए । महामन्त्री राणाले भने, ‘राप्रपा हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रका लागि सडक आन्दोलनको तयारी गरिरहेका छौं । यो वर्षातमा सबै व्यवस्था मिलाएर वारपारको आन्दोलनमा लाग्छौं ।’
आफूहरु एमालेको इशारामा नचलेको दाबी पनि राणाले गरे । उनले थपे, ‘हामी कहाँ एमालेको इशारामा चलेका कहाँ गरेका छौं र ? तीनचार क्षेत्रमा मिलेर लडेको न हो । एक महिना सरकारमा बसेकाले पुच्छर भएको भन्ने हो भने सत्ता हामीले एमालेभन्दा पहिले नै छाड्यौं ।’
पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भए दोषीहरु जेल जाने पनि राणाले बताए । उनले भने, ‘धर्मलाई अफिम भन्नेहरु सत्तामा छन् । उनीहरुबाट के आशा गर्न सकिन्छ ? जलहरीको प्रतिवेदन आएपछि दोषी कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’
बजेट पुनर्लेखन नभए पारित गर्न नहुने पनि सांसद राणाले औंल्याए । उनले भने, ‘यो कर्मकाण्डी बजेट हो । यो हामीले मात्र होइन, सत्तारुढ सांसदले नै रोजै यही भनिरहेका छन् । तीनचार जना नेताको सिफारिसमा तीनचार जिल्लामा मात्र थुपारेका छन् । तर भोलि ह्वीप लागेर संशोधन गर्नुपर्छ भन्ने सांसदहरुले नै पास गरिदिने हो कि भन्ने त्रास पनि छ ।’

संवैधानिक राजतन्त्रको एजेन्डालाई तिजाञ्जलि दिएको राप्रपा नेपाल नसुध्रीकन सहकार्य हुन नसक्ने पनि राणाले बताए । उनले थपे, ‘राप्रपा नेपालले संवैधानिक राजतन्त्रको एजेन्डालाई छाडेको जस्तो छ । त्यसैले तत्काल उहाँहरुसँग मिल्ने सम्भावना छैन । पहिले त उहाँहरु सुध्रेर आउनुपर् यो नि ।’



प्रतिक्रिया दिनुहोस्