Logo

कांग्रेस सांसदको टिप्पणी— एमालेले भगवानको मन्दिरमा पनि भ्रष्टाचार गर्न छाडेन



काठमाडौं, १२ असार । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
‘बजेटमा कांग्रेसभित्र मात्र नभएर अरु पार्टीमा पनि असन्तुष्टि छ । मैले पनि संसदमा असन्तुष्टि अभिव्यक्त गरेकै हो । मन्त्रीहरु नै असन्तुष्ट छन् । तर सारा कमजोरीका बावजुद बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता छ । किनभने हामीसँग संशोधन गर्ने समय छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद घिमिरेले ३२-३३ वर्षको संसदीय इतिहासमा बजेट संशोधन गर्ने अभ्यास नभएको पनि औंल्याए । उनले भने,’ यसपल्टलाई जस्ताको तस्तै बजेट पारित गर्नुको विकल्प छैन । अर्को पटकका लागि हामीले धेरै काम गर्नुपर्ने अवस्था छ । त्यसका लागि अब जेठ १५ मा बजेट ल्याएर हुँदैन । वैशाखमै प्रस्तुत गर्नुपर्छ । त्यसपछि मात्र संशोधन जान सकिन्छ ।’
यतिबेला बजेट संशोधन गर्न थालियो भने लोकतन्त्र नै अनन्त भुमरीमा फस्ने अवस्था आउने घिमिरेले दाबी गरे । उनले भने, ‘अब बजेट संशोधन गर्न थालियो भने लोकतन्त्रमै समस्या हुन सक्छ । मुलुक अनन्त भुमरीमा फस्ने अवस्था आउन सक्छ । भोलिका दिनमा आन्तरिक रुपमा रकमान्तर गरेर जाने ठाउँ र बाटाहरु खुलै छन् ।’

उनले विनियोजन विधेयक ल्याउने अभ्यास नै गलत रहेको औंल्याए । उनले भने, ‘कुनै पनि योजनाको लेखाजोखा नगरी शक्तिको भरमा रकम विनियोजन गर्ने, आवश्यकता नभएको ठाउँमा काम हुने, बाटो नभएको ठाउँमा पुल बन्ने अवस्था आयो । जसको शक्ति, उसको भक्ति गरेर देश बन्दैन ।’
अर्को प्रसंगमा उनले पटक-पटक सरकार बदलेर राजनीतिक अस्थिरताको कारक नेपाली कांग्रेस बन्नु नहुने बताए । घिमिरेले भने, ‘हामीले निर्वाचनमा जनतालाई पाँच वर्ष स्थिर सरकार दिने प्रतिबद्धता गरेका हौं । अहिले फेरि तोड्न लाग्यौं भने राजनीतिक अस्थिरताको बिजारोपण गरेको अपयश हामीलाई आउँछ । त्यसैले कांग्रेस यो खेतीमा लाग्नुहुँदैन । राजनीतिक अस्थिरताको कारक कांग्रेस बन्नुहुँदैन । राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा लैजाने काम कांग्रेसकै हो नि ।’
पार्टी नेतृत्वले ११ महिनासम्म केन्द्रीय समितिको बैठक प्राथमिकतामा नराखेको आरोप पनि उनले लगाए । घिमिरेले भने, ‘केन्द्रीय समितिको बैठकले कम महत्त्व पायो । नेताहरुलाई विचार पोख्ने ठाउँ भएन । त्यसैले मिडिया वा बाहिर पोख्ने गरेको देखियो । हाम्रो पार्टी सभापति ओरिएन्टेड छ । सभापतिले नबोलाएसम्म बैठक बस्न सक्दैन । यसमा ठूलो कमजोरी भएको छ ।’
सांसद घिमिरेले पशुपतिको जलहरी प्रकरणमा शंका गर्ने प्रशस्त ठाउँ रहेको पनि औंल्याए । उनले भने, ‘म पनि शिवजीप्रति आस्था राख्ने व्यक्ति हुँ । उहाँको दिगम्बर भेष हो । कोरोनाकालमा जनताको चुलोमा भात पाक्न नसक्ने अवस्थामा चाँदीको जलहरी झिकेर सुनको हाल्ने काम किन गरियो ? दुई सय वर्षदेखिको चाँदी झिकेर सुनको जलप लगाएर आफ्नो नाम कुद्नुपर्ने कारण के हो ? भगवान्को मन्दिरमा पनि भ्रष्टाचार गर्ने ? कतै पनि भ्रष्टाचार गर्न नछोड्ने संस्कृतिले हामीलाई कहाँ पुर् याउँछ ? यसमा शंका गर्ने पर्याप्त ठाउँ छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot