Logo

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा परेकोमा एमाले अध्यक्ष ओलीको चिन्ता



काठमाडौं,१२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं शहर विश्वकै प्रदुषित शहरमा परेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौं शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय भएको उनको भनाइ छ ।

ओलीले उक्त विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको बताएका छन् । साथै उनले काठमाडौँ महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौँलाई यसबाट बचाउन पक्कै केही गरिरहे पनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताएका छन् ।

उनले लेखेका छन् ‘हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा वर्ल्ड अफ स्टाटिस्टिक्स भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए। त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो। ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो। तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ । काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ । यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं । हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं । प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔं’।



प्रतिक्रिया दिनुहोस्

Screenshot