Logo

रसुवामा पहिलो शल्यक्रिया



रसुवा, १२ असार । धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो । यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ । सुत्केरीको नाम भने उल्लेख नगर्न अस्पतालले आग्रह गरेको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो । दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए ।

‘निक साइमन्स’ले गरेको सहयोग रसुवावासीका लागि हितकारी भएको र यो सेवालाई निरन्तरता दिइने बताइएको छ । दक्ष चिकित्सकका साथै दुई स्टाफ नर्स, एक ल्याप टेक्निसन एवं एक रेडियो ग्राफरसमेत उक्त संस्थाले उपलव्ध गराउनाका साथै सहयोग पनि गरिरहेको छ । पन्ध्र शय्या क्षमताको उक्त अस्पतालमा निक साइमन्सले शल्यक्रियाका लागि नियमित एक दक्षचिकित्सक खटाएका कारण शल्यक्रिया गर्न सफल भएको बताइएको छ । सुत्केरी बेथाले छट्पटिएकी ती महिलालाई अस्पताल पु¥याउनासाथ तत्काल परीक्षण गरी चिकित्सक टोलीले शल्यक्रिया गर्नुपर्ने निचोड निकालेको थियो ।

डा रञ्जितराज पाठकसहितको चिकित्सक समूहले पूर्वतयारीको समय बाहेक ४५ मिनेटमा पेटको बच्चा निकालेकोे मेडिकल सुपरिटेन्डेन्ट शाहले जानकारी दिए । जन्मेका नवजात शिशुको तौल साडे तीन केजी रहेको र आमा तथा बच्चा दुवैको स्वस्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

सुत्केरी हुने महिलाकी आमा डोल्मा तामाङले भने, “छोरीलाई दुई हप्ता अगाडि हल्का सुत्केरी बेथा लाग्दै गएको थियो । दिनदिनै शरिर असहज हुन थालेपछि जिल्ला अस्पताल पु¥याउँदा चिकित्सकले शल्यक्रिया गर्ने निर्णय गरे र अहिले आमा तथा बच्चा दुवैलाई राम्रो छ गरिबी जीवनमा निःशुल्करूप शल्यक्रियासहितको उपचारले ठूलो राहत मिलेको भन्दै चिकित्सक समूहलाई धन्यवादसमेत दिए ।

यसअघि प्रसूतिका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा काठमाडौँ ल्याउन सरकारले एयर एम्बुलेन्स (हेलिकप्टर) उपलब्ध गराउने गरे पनि उपचार एवं शल्यक्रियाका लागि धेरै रकम लाग्ने गरेकामा अब सो समस्या अस्पतालले समाधान गरेपछि एयर एम्बुलेन्सका लागि खर्चहुने रकम राज्य कोषमै सुरक्षित रहने र अर्को उपचारमा हुने व्यक्तिगत खर्चसमेत बचत हुँदा हिमाली ग्रामीण बासिन्दालाई ठूलो राहत मिलेको सुत्केरीकी आमा डोल्माले बताए ।

सहजरूपले सुत्केरी हुन नसकेका महिलालाई स्थानीयस्तरमा गरिएको शल्यक्रिया यस हिमाली जिल्लाका ग्रामीण बासिन्दालाई हितकारी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । विगतको तुलनामा यस अस्पतालको सेवामा निकै सुधार भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot