Logo

भैरहवाबाट हङकङ र दिल्ली उडान तयारी



काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न लागेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, “हाल मलेसियाबाट भैरहवामा अवतरण हुँदै आएको निगमको जहाजले काठमाडौँ आउँदा दिल्ली र हङकङ जाने यात्रुसमेत लिएर काठमाडौँ आउने छ । काठमाडौँ आएका यात्रुलाई निगमको सोही उडान वा निगमकै अर्को उडानमार्फत गन्तव्यमा पु(याउने तयारी भइरहेको छ ।”

यस्तो उडान हरेक मङ्गलबार हुने उहाँले बताउनुभयो । हाल निगमले काठमाडौँबाट दिल्ली दैनिक दुई र हङकङ हप्तामा दुई (मङ्गलबार र शनिबार) उडान गर्दै आएको छ ।

विश्व प्रसिद्ध स्थल लुम्बिनीलाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन र गण्डकी तथा कोशी प्रदेशबाट हङकङमा कार्यरत लाहुरे धेरै रहेकाले यात्रुको सहजतालाई हेरेर उडान विस्तार गर्न लागिएको उनले बताए। निगमले भैरहवाबाट सिधा दिल्ली उडान सञ्चालनको योजना बनाए पनि भारतको अनुमति प्राप्त भइसकेको छैन । प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरिने छ ।

दुबई, दोहालगायतका गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ । निगमले गएको गत जेठ २९ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नुका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको छ ।

विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरले उडान गर्दै आए पनि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot