Logo

पाँच दिने भ्रमणका लागि उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान



काठमाडौं, असार १३। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको सिचुवान प्रान्तको भ्रमणमा गएका छन् । पाँच दिने भ्रमणका लागि गएराति ११ः२० बजेको उडानमार्फत चीन प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायतको सहभागिता छ ।

उनी आज ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भोलि बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने छन् भने दिउँदो छेन्दूको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन् । सोही दिन साँझ उहाँ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन्।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटघाट गर्नेछन भने त्यहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्नेछन् ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन् । त्यसदिन दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्