Logo

यसैपटक संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति छैन : कांग्रेस प्रमुख सचेतक



काठमाडौं, १३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले आज बजेट पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताएका छन् ।
‘बजेटमाथि थुप्रै असहमति र असन्तुष्टि छन् । समानुपातिक वितरण भएन भन्ने गुनासो छ । विभिन्न चिन्ता र चासो व्यक्त भएका छन् । यसका बाबजुद पनि बजेट जस्ताको तस्तै पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था छ । सरकार आफैंले कहींनेर परिवर्तन गर् यो भने उसले नै गर्छ । तर यसपटक संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति छैन । अर्थतन्त्रमा चाप छ । समयको पनि चाप छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता लेखकले जिम्मेवार प्रतिपक्ष बजेट असफल पार्न नलाग्ने पनि औंल्याए । उनले भने, ‘सदनले बजेट संशोधन गर्ने हो भने प्रतिनिधिसभामा नियमावलीमै संशोधन गर्नुपर्छ । बजेटको खर्च कटौतीबाहेकका संशोधनबारे स्पष्टता छैन । सदनले बजेट संशोधन गर्न सक्छ भने त्यसका आधार, मान्यता र सिद्धान्तमा स्पष्टता हुनुपर् यो नि ।’ बजेट पारित नभए देश चलाउन गाह्रो हुने पनि उनले स्पष्ट पारे ।
आफू पनि बजेट संशोधन गर्ने क्षेत्राधिकार संसदमा राख्नुपर्छ भन्नेमा पक्षमै रहेको लेखकले बताए । उनले भने, ‘सरकार गठन, परिवर्तन, सरकारमाथि निरन्तर निगरानी राखेर उत्तरदायी बनाउने र कानुन बनाउने काम मात्र होइन, राज्यका स्रोत र साधन वितरणमा पनि संसदको कुनै न कुनै भूमिका हुनुपर्छ । धेरै लगाएर बजेटमा छलफल हुने तर बजेटलाई यथावत् पारित गर्ने हो भने समयको बरबादी किन गर्ने ? बजेटका सम्बन्धमा संसदको कुनै न कुनै भूमिका हुनुपर्छ । म बजेटलाई निष्कर्षमा पुर् याउनुअघि आवश्यक फेरबदल गर्नुपर्छ भन्ने पक्षमै छु ।’
ललिता निवास लगायतका भ्रष्टाचारमा स्वतन्त्र, निष्पक्ष र पूर्वाग्रहरहित छानबिन होस् भन्ने कांग्रेसको धारणा रहेको पनि उनले बताए । अहिले गठबन्धन भत्किन्छ र सरकार परिवर्तन हुने हल्ला मात्र भएको लेखकले बताए । उनले भने, ‘अर्को गठबन्धन बन्ने र सरकार बदलिने कुनै सम्भावना छैन । यसको आधार पनि छैन । यसका लागि कांग्रेसले कसैसँग औपचारिक वा अनौपचारिक छलफल गरेको छैन । यो गठबन्धन निरन्तर रुपमा चल्छ । अगाडि बढ्दै जाँदाखेरि सरकारको नेतृत्व वा बनोट परिवर्तन हुने त विषय नै भइहाल्यो । तर अरु हल्ला निरर्थक छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot